काठमाण्डौं, १० माघ । राप्रपाले अभिभावकीय राजसंस्था र प्रदेश खारेजी सहित मुख्य ५ वटामाग सहित फागुन १ गतेबाट आन्दोलनमा जाने भएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले काठमाडौंमा पत्रकारहरुसंग छलफल गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, अभिभावकीय भूमिकामा राजसंस्था, सनातन हिन्दू सापेक्ष राज्य, प्रदेश खारेजी र स्थानीय तह बलियो बनाउने र वडादेखि केन्द्रसम्म जनप्रतिनिधिको संख्या घटाउने मुख्यतः पाँच वटा आन्दोलनको एजेण्डा हुने बताए ।
लिङ्देनले मुलुकको स्थायित्व र शान्तिका लागि राजसंस्थालाई अभिभावकीय भूमिकामा ल्याउन अपरिहार्य रहेको दोहोर्याए। राप्रपाको एजेण्डामा जनता सहभागी हुने दाबी गर्दै उनले विदेशीको सहयोगमा राजसंस्था फर्काउने आफूहरुको चाहना र उद्देश्य नरहेको बताए ।
लिङ्देनले देशको भविष्यका लागि राजसंस्था पुनःस्थापन गर्न दलहरुलाई आग्रह गरे । आन्दोलनमा जनताका जनजिविका, भ्रष्टाचार, आर्थिक अवस्था सुधारको एजेण्डा पनि उठाउने उनले बताए ।
उनले आफ्नो आन्दोलन पूर्णत अहिंसात्मक हुने बताए। १० वर्षे माओवादी शसस्त्र आन्दोलनबाट सिर्जत विध्वंसबाट आफू जानकार रहेको बताउँदै त्यसलाई दोहोर्याउन नहुने बताए।
राप्रपाको आन्दोलन दलहरुलाई सच्चिनका लागि पनि भएको उनको भनाइ छ। राजसंस्था र हिन्दूत्वको कुराले गर्दा देशलाई पछाडि नलैजाने उनको दाबी छ। आफ्नो पार्टी मानव अधिकार, प्रेस स्वतन्त्रता र मौलिक हकको पक्षमा रहेको बताए।








प्रतिक्रिया