कृषि

शीत भण्डारमा कुहिएका सुन्तलाको वैज्ञानिक अनुसन्धान गरिँदै



अर्घाखाँची, १५ माघ । अर्घाखाँचीको पाणिनि गाउँपालिकामा शीतभण्डारमा राखेका लाखौं मूल्यका सुन्तला कुहिएर नष्ट भएपछि किसान चिन्तित बनेका छन् । पाणिनि गाउँपालिका–२ पोखराथोकमा रहेको शिवशक्ति शीतभण्डारमा पणेनाको सिम्ले र पोखराथोकका किसानले राखेको ९० मेट्रिकटनमध्ये ६३ मेट्रिकटन सुन्तलाका दानामा ढुसी लागेर नष्ट भएको किसान खगेन्द्र पौडेलले बताए ।

शीतभण्डारमा राखेका ६३ मेट्रिकटन सुन्तला कुहिएपछि रु ९० प्रतिकेजीमा सुन्तलाको हिसाब गरे पनि किसानले करिब रु ५६ लाख ७० हजार घाटा व्यहोर्नु परेको छ । किसान मानबहादुर श्रेष्ठ, चिरञ्जीवी पौडेल, रेवतीराज पौडेल र खगेन्द्र पौडेलले शीतभण्डारमा स्थानीयस्तरमा उत्पादन भएको ९० टन सुन्तला राखेका थिए । बेमौसमी समयमा बढी मूल्यमा बिक्री गर्ने उद्देश्यले राखेका सुन्तलामा ढुसी लागेपछि घाटा परेको किसानको भनाइ छ ।

अघिल्ला दुई वर्षमा पनि कुहिएर सुन्तला नोक्सान भएका थियो । यसवर्ष लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयले गत मङ्सिरमा विज्ञ प्राविधिक ल्याएर किसानलाई गाउँमै शीतभण्डारमा सुन्तला राख्ने तरिका सिकाएको थियो । सिकाएअनुसार सुन्तला भण्डारण गर्दा पनि कुहिएर नष्ट भएको किसानको भनाइ छ ।

सुन्तला कसरी र किन कुहियो भनी आइतबार नेपाल कृषि अनुसन्धान परिषद्का वैज्ञानिक उमेश आचार्यको र कृषि विकास निर्देशनालयको टोलीले स्थलगतरुपमा अवलोकन गरी अनुसन्धान सुरु गरेको कृषि ज्ञानकेन्द्र अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरेले बताए ।

वैज्ञानिकको टोलीले गरेको अनुगमनको प्रतिवेदन आउन केही दिन लाग्ने उनले बताए । प्रारम्भिक जानकारीअनुसार सुन्तलाको ‘ट्रिटमेन्ट’ राम्रोसँग नभएको देखिएको छ । अघिल्ला दुई वर्षमा केही मात्रामा कुहिए पनि यसपटक एकैसाथ नष्ट भएको हो । यसरी बर्सेनि सुन्तला बिग्रिँदा किसान चिन्तित भएका छन् ।

लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा पाणिनि गाउँपालिकाले तीन वर्षअघि तीन सय मेट्रिकटन क्षमताको शीतभण्डार निर्माण गरेको थियो । सिम्लेका सुन्तला किसानको शिवशक्ति मिश्रित किसान समूहले शीतभण्डार सञ्चालन गरेको छ । सुन्तला पाणिनि गाउँपालिका–१ पणेना र वडा नं २ पोखरा थोकको प्रमुख उत्पादनको स्रोत हो । पणेनामा दुई सय र वडा नं १ सिम्लेमा मात्रै करिब ४९ जना किसानले वार्षिक सुन्तला खेतीबाट घटीमा रु एक लाखदेखि बढीमा रु २८ लाखसम्म आम्दानी गर्दै आएका थिए ।

अर्घाखाँचीमा पाँच सय हेक्टर क्षेत्रमा सुन्तलाखेती हुन्छ । पाणिनि गाउँपालिका–१ पणेना, वडा नं २ पोखराथोक, वडा नं ४ पटौटी र वडा नं ५ मैदानमा पनि सुन्तला उत्पादन हुने गर्दछ । पाणिनि गाउँपालिकासँगै मालारानी गाउँपालिका, छत्रदेव गाउँपालिकाका विभिन्न स्थानमा सुन्तला खेती हुँदै आएको छ ।

प्रकाशित : १५ माघ २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६