काठमाण्डौ, १७ माघ । संरक्षणविद्हरूले बाँदरको निकासी गर्न नहुने बताएका छन् । राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा संरक्षणविद्हरूले बाँदर नेपालको संस्कृतिसँग पनि सम्बन्धित भएको भन्दै नेपाली संस्कृति मास्ने गरी निकासी गर्न नहुने बताएका हुन् ।
बैठकमा संरक्षणविद् तथा नेपाल सरकारका पूर्वसचिव डा. उदयराज शर्माले निकासी गरेर बाँदरबाट हुने क्षती कम नहुने बताउनुभयो । उहाँले बाँदरले अत्यधिक दुःख दिएको अवस्थामा सरकारले निर्णय गरेर मार्न भने सकिने बताउनुभयो । मानव र वन्यजन्तुका बीचमा द्वन्द्व बढ्दै गएको अवस्थामा अधिक वन्यजन्तुप्रेमी हुनु पनि आवश्यक नभएको शर्माले बताउनुभयो ।
यस्तै बैठकमा लेखक अश्विनकुमार पुडासैनीले पोखरा महानगरपालिका वडा नम्बर १९ का वडाध्यक्षले ‘मेरो रुख म काट्छु’ अभियानको नाममा आफ्नो घर वरपरको रुख काट्न निर्देशन जारी गरेको प्रसङ्ग निकाल्दै रुख काट्नु समाधानको बाटो नभएको बताउनुभयो । समस्या समाधानका लागि बस्तीलाई व्यवस्थित र प्रकृतिमैत्री बनाउनुपर्नेमा उहाँको जोड छ ।
पोखरा महानगरपालिका–१९ का वडाध्यक्षले बाँदर नियन्त्रणका लागि रुख काट्न भन्दै सूचना निकालेपछि रुख काट्नेबारे चर्चा भइरहेको छ । यसअघि नै स्याङ्जाको वालिङ नगरपालिकाले रुख काट्ने अभियान चलाइरहेको छ । तर बाँदरबारे अध्ययन गर्नुभएका पशुपति अधिकारी बाँदर सहर बजारमा पनि बस्ने भएकाले रुख काटेर बाँदर नियन्त्रण नभई उसले थप क्षति गर्ने जोखिम हुने बताउनुहुन्छ ।
यसैबीच पोखरा–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले अर्को सूचना निकालेर बाँदर नियन्त्रणका लागि रुख काट्ने सूचना रद्द गरेको जानकारी गराउनुभएको छ । उहाँले हिजो एक सूचना निकालेर घरवरपरका रुख १० दिनभित्र आफैँ काट्न वडावासीका नाममा सूचना जारी गर्नुभएको थियो । सूचनाको चौतर्फी विरोध भएपछि पोखरा महानगरपालिकाले वडालाई पत्र लेखेर सूचना रद्द गर्न अनुरोध गरेको थियो ।
प्रतिक्रिया