भैरहवा, १९ माघ। भियतनाम एयरलाइन्सले मार्चबाट भैरहवामा उडान थाल्ने तयारी गरेको छ । भियतनामको राष्ट्रिय विमान कम्पनीले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा उडान गर्न चासो राखेको हो ।
दुई सातादेखि निरन्तर कुराकानी भइरहेको र भैरहवामा चार्टड उडान गर्न भियतनाम सकारात्मक देखिएको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले जानकारी दिए ।
अहिले चार्टड उडानबाट सुरु गर्ने र बजार अध्ययन गरेपछि उडान नियमित पनि हुन भियतनाम एयरलाइन्सको योजना रहेको महाप्रबन्धक पाण्डेले जानकारी दिनुभयो । चार्टड उडान भनेको सेड्युल अनुसार नभइ यात्रु पुर्याएर गरिने उडान हो । भियतनाम बौद्धधर्मलम्बीहरुको बाहुल्यता भएको मुलुक हो । त्यहांका बौद्धमागीहरुले बुद्ध जन्मस्थल लुम्बिनी आउने गर्दछन । लुम्बिनीमा पछिल्लो समय भियतनामका पर्यटकहरुको आगमन बढेको छ ।
कोभिड अघिको तुलनामा अन्य मुलुकका पर्यटकको आगमन कम देखिँदा भियतनामको भने बढेको छ । सन २०२३ मा १० हजार ४१४ भियतनामीहरुले लुम्बिनीको भ्रमण गरेका छन । कोभिड अघि सन २०१९ मा ८ हजार ३४५ जना भियतनामी पर्यटक लुम्बिनी आएका थिए ।
म्यानमार, श्रीलंकन, चिनिया, थाइ लगायतका पर्यटक भने कोभिड अघिको तुलनामा घटेका छन । भियतनामले पछिल्लो समय अर्थतन्त्रमा निकै प्रगति गरेको छ। अर्थतन्त्रमा प्रगति गरेकै कारण भियतनामीहरु घुम्ने क्रम बढेको र त्यसको प्रभाव लुम्बिनीमा पनि परेको लुम्बिनी विकास कोषका सुचना अधिकृत हरि राइको भनाइ छ ।
कोषका सूचना अधिकृत राइले पनि भियतनामीहरु चार्टड उडान मार्फत आउन चाहेको बताए । भियनामका पर्यटकहरु गुणात्मक मानिन्छ । भियतनामबाट चार्टर उडान सुरु भएमा अरु अन्तराष्ट्रिय उडानहरु पनि थपिन सक्ने आशा गरिएको छ ।
यस अघि म्यानमार, कम्बोडिया लगायतका देशले उडान गर्ने चार्टर उडान गर्ने बताएपनि अहिलेसम्म हुन सकेको छैन । कम्बोडियाको नेश्नल एयरलाइन्स र म्यानमार नेश्नल एयरलाइन्सले अक्टोबरबाट चार्टर उडान सुरु गर्ने बताएका थिए । तर हालसम्म उडान नगरेको विमानस्थलका महाप्रबन्धक पाण्डेको भनाइ छ ।
प्रतिक्रिया