प्रदेश

लुम्बिनी प्रादेशिक अस्पतालमा बर्थिङ सेन्टर र बाल सघन उपचार कक्ष सेवा सुरु



बुटवल, २५ माघ । लुम्बिनी प्रादेशिक अस्पतालले बर्थिङ सेन्टर र बाल सघन उपचार कक्ष (पिआईसियु) सेवा सुरु भएको छ। बिहीबार लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री राजु खनालले कक्षको उद्घाटन गरे। परिवारका सदस्यहरू र विशेषज्ञ सहित बच्चा जन्माउने सुविधा सहितको बर्थिङ सेन्टर अस्पतालको ब्लक ‘सी’को पहिलो तल्ला र २८ दिन देखि १४ वर्षसम्मका बालबालिकाको सघन उपचार गर्न अस्पतालको ब्लक ‘सी’ तेस्रो तल्लाबाट यो सेवा प्रदान गरिरहेको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुदर्शन थापाले बताए ।

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले मन्त्रालयले प्रदेशका १३ वटा अस्पतालहरू व्यवस्थापन गर्दै आएको बताउँदै अहिले मन्त्रालयबाट सबैभन्दा धेरै लगानी यस अस्पतालमा गर्दै आएको बताए । उनले अस्पतालहरूमा देखिएका भौतिक एवं जनशक्ति अभावलाई चिर्ने काम भइरहेको बताउँदै जनताले अहिले विश्वास गर्ने अवस्था हुनु सकारात्मक रहेको बताए । साथै लुम्बिनी प्रादेशिक अस्पतालमा रोकिएको भवन निर्माणको काम पनि सुरु गर्न कानुनी अड्चन हटेको बताउँदै ८ सय बेड क्षमताको भवन निर्माण कार्य सुरु हुने मन्त्री खनालले बताए ।

स्वास्थ्यमन्त्री खनालले मातृ र बाल मृत्यु दर उच्च रहेको तथ्याङ्क रहेको बेला लुम्बिनी प्रादेशिक अस्पतालमा थपिएको बर्थिङ सेन्टर र पिआईसियुले मृत्युदर घटाउन सहयोगी बन्ने विश्वास व्यक्त गरे । उदघाटन कार्यक्रममा बोल्दै स्वास्थ्य निर्देशनालयका लुम्बिनीका निर्देशक डा विनोद गिरि सामान्य केसहरूलाई बर्थिङ सेन्टरमा गर्दा जटिल बिरामीले पालो नपाउने अवस्था आउन सक्ने भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरे। अस्पतालमा सुरु भएको बर्थिङ सेन्टरको बेड बढाउन आवश्यक रहेको भन्दै आमा र बच्चा रिफर गर्न नपर्ने अवस्था सिर्जना गर्न निर्देशन दिए।

लुम्बिनी प्रादेशिक अस्पतालका बाल रोग विभाग प्रमुख डा. किरणमणि पौडेलले बालबालिकाको स्याहारसुसार मा समस्या रहेको अवस्थामा अहिले निकै राम्रा पहलहरू भइरहेको बताउनु भयो। उहाले लुम्बिनी प्रदेश सरकारको सहयोगमा ६ बेडबाट सुरु गरेको बताए । डा. पौडेलले गुणस्तरीय सेवा प्रदान गर्न कुनै कमजोरी नराख्ने उल्लेख गरे । कार्यक्रममा अस्पतालका प्रसूति विभाग प्रमुख डा.भक्त बस्य –बिबि राउतले सरकारले गर्भवती सेवा सरकारी अस्पतालमा निःशुल्क गरेपछि जनताको भिड बढेको अवस्थामा यसको आवश्यकतामा ध्यान नदिएको भए पनि पछिल्लो समय यसको आवश्यकतालाई महसुस गरेर बर्थिङ सेन्टर स्थापना गरिएको बताए ।

नेपालभरकै तेस्रो अस्पतालको रूपमा लुम्बिनी प्रादेशिक अस्पतालमा सुरु गरिएको बताए । नवजात शिशु मृत्युदर र मातृ मृत्युदर घटाउनका लागि यो प्रभावकारी हुने विश्वास डा राउतले व्यक्त गरे । कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा. जनार्दन पन्थीले पुरानो र धेरैले सेवा लिने लुम्बिनी प्रादेशिक अस्पतालमा सेवा बिस्तार संगै गुणस्तरी सेवा दिनु पर्ने बताए । उनले सरकारले आबश्यक स्वास्थ्यकर्मी तथा बजेटको लागी मन्त्रालयले सक्दो सहयोग गरिरहेको बताए। कार्यक्रमको संञ्चालन, अस्पताल बुटवलका प्रशासकीय अधिकृत राजन केसी गरेका थिए ।

प्रकाशित : २५ माघ २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६