ब्रेकिंग न्युज

स्वर्गीय आचार्यको जन्मजयन्तीमा आयोजित जिल्ला स्तरीय कविता प्रतियोगितामा पवित्रा प्रथम




कपिलवस्तु २५ माघ ।
सिद्धार्थ क्याम्पस बाणगंगामा जिल्ला स्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ । क्याम्पसका संस्थापक क्याम्पस प्रमुख स्वर्गीय पुरुषोत्तम आचार्यको ८६ औं जन्मजयन्तीको अवसरमा आचार्य परिवारको आयोजना र सिद्धार्थ क्याम्पसको समन्वयमा प्रतियोगिता सम्पन्न भएको हो ।


जिल्लाका माध्यमिक तहका विद्यार्थीहरु सम्मिलित उक्त प्रतियोगितामा बुद्धभूमि नगरपालिका–९ स्थित श्री माध्यमिक विद्यालय इमिलियाकी छात्रा पवित्रा बेल्बासेले प्रथम स्थान हाँसिल गर्नुभएको छ भने बाणगंगा माध्यमिक विद्यालय गजेहडाकी प्रिस्किला दर्नालले द्वितीय स्थान प्राप्त गर्न सफल हुनुभएकोे छ । त्यस्तै जनता माध्यमिक विद्यालय पिपराकी रोसिका घिमिरेले तृतीय स्थान हाँसिल गर्दा ज्ञानपुञ्ज बोर्डिङ्ग स्कुल राजपुरकी दिव्या घिमिरे र तिलौराकोट माध्यमिक विद्यालय गोवरीका राजेन्द्र विश्वकर्माले सान्त्वना स्थान हाँसिल गर्न सफल हुनभएको छ ।


प्रतियोगिताका सहभागीहरुले कार्यक्रम स्थलमै ‘म युवा’ भन्ने शीर्षकमा कविता रचना गरी वाचन समेत गरेका थिए । प्रतियोगितामा प्रखर साहित्यकारहरु मोहन ज्ञवाली, सूर्य भुसाल र रमेश पौडेलले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । कवितामा उठान भएको विषयवस्तु, शिल्प शैली, लय र वाचन कलाको आधारमा मूल्याङ्कन गरिएको क्याम्पसका अतिरिक्त क्रियाकलाप समिति संयोजक रमेश पौडेलले बताउनुभयो । प्रतियोगितामा प्रथम हुने प्रतियोगीलाई पुरस्कार स्वरुप रु १० हजार, द्वितीयलाई ८ हजार, तृतीयलाई ६ हजार र सान्त्वना हुने दुईजनालाई ३र३ हजार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा बाणगङ्गा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले युवा विद्यार्थीहरुमा साहित्य प्रतिको मोह घट्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । नगर प्रमुख अर्यालले नगरपालिका मौलिक कला, संस्कृति र साहित्य संरक्षण र विकास लागि अग्रसर रहेको बताउनुभयो । अर्यालले नगर भित्र साहित्यिक गतिविधिलाई व्यवस्थित गर्न नगरपालिकाले ‘नगर प्रज्ञा प्रतिष्ठान’ सम्बन्धी विधेयक पास गरी गठन प्रक्रियाको अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।


कार्यक्रमलाई सम्वोधन गर्दै क्याम्पस सञ्चालक समिति अध्यक्ष डम्मर शर्मा, त्रिविका सहप्राध्यापक मेघराज आचार्य, क्याम्पस प्रमुख बेदराम अर्याल, सहायक क्याम्पस प्रमुख गोविन्दप्रसाद खनाल लगायतले कला र साहित्य समकालीन समाजको दर्पण र मानव विकासको आधारसमेत भएकाले यसतर्फ नयाँ पुस्ताको आकर्षण बढाउनु पर्ने औंल्याउनु भएको थियो ।

प्रकाशित : २५ माघ २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६