प्रदेश

अशोक स्तम्भ जोगाउन ‘दियो सेड’ सारियो



बुटवल, ०८ फागुन । शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीको अकाट्य प्रमाणका रूपमा अशोक स्तम्भलाई मान्ने गरिन्छ । अशोक स्तम्भका पुरातात्त्विक संरचनामा नकारात्मक असर पर्न थालेपछि नजिकै बालिने बत्तीलाई परिसर बाहिर सारिएको छ ।

यूनेस्को, पुरातत्वविद्हरुले दिएको सुझाव अनुसार नै लुम्बिनी विकास कोषले अशोक स्तम्भ नजिकै बालिँदै आएको दियो सेड हटाएर बाहिर निर्माण गरिएको कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले बताए ।

अशोक स्तम्भ नजिकै बालिँदै आएको दियोलाई अलि टाढा लैजान विज्ञहरूले दिएको सुझाव अनुसार नयाँ दियो सेड स्थापना गरिएको उपाध्यक्ष लामाले बताए । लामाकै पहलमा अशोक स्तम्भ नजिकै रहेको दियो सेड हटाएर मायादेवी मन्दिर परिसरको पश्चिमपट्टि एकै दिन एक लाखसम्म दियो बाल्न मिल्ने गरी ‘दियो स्थल’ बनाइएको छ ।

यूनेस्कोले सन् २०११ मा गरेको अध्ययनमै लुम्बिनी वरिपरि निर्माण भएका उद्योगहरूको धुवाँ, धुलो, सिमेन्टका कण र स्तम्भ नजिकै बालिएको बत्तीको धुवाँले अशोक स्तम्भको पुरातात्त्विक संरचनालाई नकारात्मक असर परेको देखाएको थियो ।

बत्ती बाल्दा त्यसबाट निस्कने कार्बन अशोक स्तम्भमा टाँसिएर पुरातात्त्विक संरचनामा नकारात्मक असर गरिरहेकाले त्यहाँबाट बत्ती बाल्ने स्थल हटाउन आफूहरूले सुझाव दिएको कोषका पुरातत्त्व महाशाखा प्रमुख एवं वरिष्ठ पुरातत्त्वविद् हिमाल कुमार उप्रेतीले बताए । उनले लुम्बिनी वरिपरिका सिमेन्ट उद्योगबाट निस्किएका धुलो टाँसिएको, अशोक स्तम्भभित्र चढाउने विभिन्न सिक्का, दुध जस्ता फलफूलले समेत असर पारेको देखिएकाले सचेत हुनुपर्ने बताए ।

सन् २०११ देखि २०१३ सम्म पवित्र बगैँचा क्षेत्रमा यूनेस्को, जापानिज फण्ड एण्ड ट्रस्टको परियोजना अन्तर्गत काम गर्दा दियो सेड स्थानान्तरण गर्न सुझाव दिइएको उप्रेतीले बताए । उनका अनुसार सोही परियोजना अन्तर्गत अशोक स्तम्भको पुरातात्त्विक संरचना संरक्षणका लागि वाटर प्रुफ र संरक्षणको काम गरिएको थियो ।

अशोक स्तम्भको सुरक्षा र लुम्बिनीमा पुग्ने तीर्थालुहरुलाई मध्यनजर गरी कोषले मायादेवी मन्दिर प्रवेशद्वारको पश्चिमपट्टि दियो स्थल निर्माण गरेको छ । त्यहाँ अहिले एकै पटकमा ८ हजार बत्ती बाल्न सकिन्छ ।

कोषले दैनिक रूपमा एक लाख दियो बाल्न मिल्ने गरी दीर्घकालीन योजना बनाएको छ । व्यवस्थित रूपमा दियो स्थल निर्माण भएपछि धार्मिक एकता र सांस्कृतिक सम्बन्धसँगै कोषको आम्दानीमा समेत सघाउ पुग्ने अपेक्षा लुम्बिनी विकास कोषको छ ।

प्रकाशित : ८ फाल्गुन २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६