देश

हिन्दू राष्ट्रको पक्षमा कांग्रेसका पूर्व महामन्त्री शशांकको पनि हस्ताक्षर



काठमाडौं, ०८ फागुन । सनातन हिन्दू राष्ट्रको पक्षमा चलाइएको अभियानमा नेपाली कांग्रेसका पूर्व महामन्त्री शशांक कोइरालाले पनि हस्ताक्षर गरेका छन्।

ललितपुरको गोदावरीमा जारी महासमिति बैठक स्थलमा कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा रहेको सनातन हिन्दू राष्ट्र नेपाल स्थापना महाअभियानले हस्ताक्षर अभियान चलाएको हो। जसमा मंगलबार पूर्व महामन्त्री कोइरालाले पनि अभियानको पक्षमा हस्ताक्षर गरेको यसका पक्षधर लोकेश ढकालले जानकारी दिए।

यस अभियानमा यसअघि बैठकको पहिलो दिन सोमबार चार सय जना महासमिति सदस्यले हस्ताक्षर गरिसकेका छन्।

सनातन हिन्दू राष्ट्र नेपाल स्थापना महाअभियानका संयोजक भण्डारीसहित २२ जना केन्द्रीय सदस्यले केन्द्रीय समिति बैठकमै हिन्दू राष्ट्र पुनर्स्थापनाको एजेण्डामाथि छलफलको माग गरेका थिए।

यसअघि हिजो सोमबारको बैठकमा बैठकमा कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनको लागि छलफल गर्न प्रस्ताव गरेका थिए।

संविधान जारी भएको ८ वर्ष भइसकेकोले यसमा देखिएका जटिलता र अस्पष्टताको पहिचान गर्ने बेला भएको पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाको भनाइ थियो।

संविधानले जारी गरेको शासकीय स्वरूपको मूलभूत विषयमा प्रभाव नपर्ने गरी संविधान संशोधनको लागि छलफल गर्न देउवाले प्रस्ताव गरेका हुन्।

उनले सत्ता गठबन्धन संविधान रक्षाको लागि गरेको कारण राजनीतिक स्थिरताको लागि यसको निरन्तरता जरुरी रहेको पनि बताए । त्यस्तै, भविष्यमा गठबन्धन गर्ने वा नगर्ने भन्ने सन्दर्भमा पार्टीले तत्कालको राजनीतिक औचित्य र सान्दर्भिकताका आधारमा तय गर्ने पनि उनले बताए।

‘गठबन्धन गर्ने सन्दर्भमा पार्टीले छलफल गरेर त्यसैबेलमा निर्णय लिनेछ, ’ देउवाले भनेका थिए । महासमिति बैठकले पार्टीलाई एकताबद्ध बनाएर लैजान थप बल पुग्नेसमेत देउवाले विश्वास व्यक्त गरेका थिए।

‘विश्वभरि नै आर्थिक मन्दी छ। कोभिड महामारीपछि हाम्रो मुलुकको अर्थतन्त्र पनि प्रभावित भएकामा केही सकरात्मक बन्दै गएको छ, ’ सभापति देउवाले भनेका थिए, ‘प्रतिकूल अवस्थालाई अनुकुल बनाउन सक्दछौं, जनतामा नयाँ भरोसा दिन सक्छौं। जनताको निराशालाई देखाएर लोकतन्त्र विरोधी गतिविधि कांग्रेसलाई मान्य हुने छैन।’

उनले कांग्रेसभित्र बहस हुने तथा अन्य दलहरुसँग प्रतिस्पर्धा हुनु पनि स्वाभाविक रहेको उल्लेखसमेत गरेका छन्। ‘ हो, कतिपय हाम्रा साझा विषय छन्, देशको सार्वभौमसत्ता, अखण्डता, शान्ति प्रक्रियाका बाँकी काममा समान धारणा बनाउनुपर्छ, ’ देउवाले भने।

यसअघि कांग्रेसले चुनावी गठबन्धन नगर्ने महामन्त्री गगन थापाको प्रतिवेदनमा उनले नै असहमति जनाएका थिए।

सोमबारदेखि गोदावरी सुरु हुने महासमिति बैठकमा पेश गर्न महामन्त्रीका हैसियतमा थापाले तयार पारेको प्रतिवेदनमा पार्टीले चुनावअघि कुनै पनि दलसँग गठबन्धन नगर्ने प्रस्ताव गरेका छन्। उक्त विषय नै निर्णय गर्नु नपर्ने भएकाले हटाउनुपर्ने अडान कांग्रेस सस्थापन पक्षले लिएको थियो ।

त्यही विषयमा सहमति जुटाउन सभापति देउवा निवासमा महामन्त्री थापासहितका नेताहरूबीच भएको छलफल निष्कर्षविहीन भएको थियो ।

यस्तै, मंगलबार भइरहेको बैठकले महासमिति सदस्यको निर्वाचन हुन नसकेका संघीय निर्वाचन क्षेत्रका महाधिवेशन प्रतिनिधि सबैलाई महासमिति बैठकमा आमन्त्रितरूपमा बैठकमा सहभागी गराउने निर्णय गरेको छ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले १४ औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन भएर महासमिति सदस्यको निर्वाचन नभएकाहरूको हकमा यही फागुन ७ देखि १० गतेका लागि आयोजित महासमिति बैठकमा सबै महाधिवेशन प्रतिनिधिलाई आमन्त्रितरूपमा सहभागी गराउने निर्णय गरेको हो।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बिहान बसेको बैठकले महासमिति सदस्यको टुङ्गो लागिनसकेका बारा क्षेत्र नं ३, पर्सा क्षेत्र नं १, सोलुखुम्बु, खोटाङ, धादिङ क्षेत्र नं १, दोलखा, ओखलढुङ्गा, काठमाडौँ क्षेत्र नं ५, दाङ क्षेत्र नं ३, कञ्चनपुर क्षेत्र नं १, बागलुङ क्षेत्र नं २ र सिन्धुली क्षेत्र नं २ जिल्ला तथा निर्वाचन क्षेत्रका हकमा सो निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

यसैगरी कांग्रेसको १४औं महाधिवेशनपश्चात केन्द्रीय महाधिवेशन सम्पन्न गरेका वा नेतृत्व परिवर्तन भएका भ्रातृ संस्थाहरू नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ, नेपाल लोकतान्त्रिक खेलकूल संघ, नेपाल किसान महासंघ, नेपाल थारू संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल दलित संघ, नेपाल भूतपूर्व सैनिक संघ र नेपाल मुस्लिम संघका हकमा अध्यक्षसहित तीनजना महासमिति सदस्यको रूपमा सहभागी गराउने निर्णय गरेको छ।

त्यस्तै, कांग्रेसको १४ औं महाधिवेशनपश्चात केन्द्रीय महाधिवेशन सम्पन्न गरेका वा नेतृत्व परिवर्तन भएका शुभेच्छुक संस्थाहरू नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल शिक्षक संघ, नेपाल डेमोक्रेटिक लयर्स एशोसिएसन, सेन्टर फर डेमोक्र्याटिक इन्जिनियर्स नेपाल, प्रजातन्त्रवादी चिकित्सक संघ र नेपाल प्रेस युनियनका हकमा पनि अध्यक्षसहित तीनजना महासमिति सदस्यको रूपमा सहभागी गराउने निर्णय गरिएको छ।

प्रकाशित : ८ फाल्गुन २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६