प्रदेश

वातावरणीय परीक्षणपछि गरा सुधार गर्न दिइने



तानसेन, १३ फागुन । मनपरी ढुङ्गा उत्खनन गर्न दिएको गुनासो बढेपछि तिनाउ गाउँपालिकाले वातावरणीय परीक्षणपछि मात्रै ढुङ्गा उत्खनन गर्न दिने जनाएको छ । गरा सुधारका नाममा तिनाउका विभिन्न स्थानमा ढुङ्गा उत्खनन गर्न दिएको पालिकाले अब भने वातावरणीय परीक्षण प्रतिवेदनका आधारमा मात्र उत्खनन गर्न दिने जनाएको हो । पछिल्लो डेढ महिनायता तिनाउ गाउँपालिकाले पालिकाभित्रका १५ किसानको मागको आधारमा गरा सुधार गर्न दिएको थियो । उक्त क्षेत्रमा गरा सुधार होइन, ढुङ्गा उत्खनन कार्य भइरहेको छ ।

नाममा गरा सुधार भनिए पनि तिनाउमा मनपरी ढुङ्गा उत्खनन बढेको, चोरी निकासी बढेको, चुरे क्षेत्रको विनाश भएको गुनासो बढेको थियो । सोही गुनासोलाई सम्बोधन गर्न अबदेखि वातावरणीय परीक्षणबिना तिनाउ गाउँपालिकामा गरा सुधार गर्न नपाइने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिनुभयो । मापदण्डभन्दा बाहिर गएर ढुङ्गा उत्खनन भएको जनगुनासो सम्बोधन गर्न यस्तो निर्णय गरिएको श्रेष्ठले जानकारी दिनुभयो । गाउँपालिकाबाट गरा सुधारका लागि अनुमति लिएर काम गरेको क्षेत्रमा मापदण्डविपरीत उत्खनन भएको गोरखापत्र दैनिकमा समाचार प्रकाशित भएको थियो । पालिकाको ४४ औँ बैठकले गरा सुधार गर्दा नियम अनुसार सङ्क्षिप्त वातावरणीय अध्ययन र प्रारम्भिक वातावरणीय अध्ययन प्रतिवेदनका आधारमा मात्र स्वीकृति दिने निर्णय गरेको पालिकाले जनाएको छ ।

पालिकाको आन्तरिक आम्दानी बढाउन नदीजन्य पदार्थ निकासी दिनुको अर्को विकल्प नभएको केही जनप्रतिनिधिको भनाइ छ । गाउँपालिकाका उपाध्यक्ष लालबहादुर थापाले गाउँपालिकामा विकास गर्ने स्रोत सङ्कलनका लागि वातावरणमा असर नपुग्ने गरी गरा सुधारको अनुमति दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले वातावरणमा असर नपुग्ने गरी गरा सुधार गर्न दिएका हौँ । त्यस क्षेत्रमा मनपरी उत्खनन भए अनुगमन गरेर त्यस्ता कार्यलाई नियन्त्रण गर्छौं ।”

पालिकाले हालसम्म गरा सुधारको अनुमति पाएका र गरा सुधार योजनाका काम भएको स्थानको स्थलगत अनुगमन गरेपछि थप निर्णय गर्ने जनाएको छ । तिनाउ गाउँपालिकाको चुरे क्षेत्रमा पर्ने दोभान, झुम्सा, कचलका अधिकांश स्थानबाट गाउँपालिकाले ढुङ्गा निकासीको अनुमति दिएको छ । सो क्षेत्रमा मनपरी उत्खनन भएको स्थानीय बासिन्दाको गुनासो छ ।

प्रकाशित : १३ फाल्गुन २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६