प्रदेश

प्राङ्गारिक कृषिउपजको उत्पादन बढाउन बिज्ञहरुको जोड



लुम्बिनी, १४ फागुन । प्राङ्गारिक कृषिउपजको बजार बढ्दै गएकाले यसको उत्पादन पनि बढाउनुपर्नेमा बिज्ञहरुले जोड दिएका छन् । बुटवल उद्योग वाणिज्य सङ्घ र लुम्बिनी प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको आयोजनामा बुटवलमा सञ्चालित राष्ट्रिय प्राङ्गारिक कृषि मेलामा आइतबार आयोजना गरिएको कृषि वस्तुको बजारीकरणसम्बन्धी अन्तर्क्रियामा सो कुरामा जोड दिएका हुन् । पछिल्लो समयमा विश्वसँगै नेपालभित्रै पनि रैथाने र प्राङ्गारिक कृषि वस्तुको माग बढ्दै गएको सरोकारवाला तथा विज्ञले जनाएका छन् ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै कृषि उद्यम केन्द्र नेपाल, उद्योग वाणिज्य महासङ्घका कायममुकायम प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र जोशीले रैथाने र प्राङ्गारिक कृषि वस्तुको बजार बढ्दै गएकाले अहिले भइरहेको प्राङ्गारिक उत्पादनले बजार माग पूरा गर्न नसक्ने हुनाले उत्पादन बढाउनुपर्नेमा जोड दिए । उनले विस्तारै यसको बजार बढ्दै जाने भएकाले किसानले उत्पादन गर्ने कृषिउपजलाई प्राङ्गारिकरण गर्दै जानुपर्ने भनाइ राखे ।

“प्राङ्गारिकको माग बढ्दै जाँदा त्यसबाट किसानले पनि लाभ लिन सक्नेछन् । प्राङ्गारिक उत्पादन नेपालको माटो सुहाउँदो कुरा पनि हो”, उनले भने, “यसले उत्पादन लागत पनि घटाउँछ भने मलखाद नपाउने समस्या पनि रहन्न । तर प्राङ्गारिक हो भन्ने कुराको प्रमाणीकरणको प्रबन्ध मिलाउनुपर्ने किसानको मत छ ।” प्राङ्गारिक प्रमाणीकरण नहुँदा अप्राङ्गारिकलाई पनि प्राङ्गारिक भनेर उपभोक्ता झुक्याउने सम्भावना रहेकाले त्यसको व्यवस्था सरकारले मिलाउनुपर्ने उनले बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ कृषि उद्यम केन्द्रका बोर्ड सदस्य झलकलाल श्रेष्ठले तीनै तहका सरकारसँग कृषिको कुनै प्रकारको तथ्याङ्क नभएको बताउँदै यसले कृषिको व्यावसायिक विकास हुन नसक्ने भनाइ राख्नुभयो । त्यस अवसरमा सङ्घका अध्यक्ष तथा मेला सम्पादन समितिका संयोजक हरिप्रसाद अर्यालले अन्तर्क्रियामा उठेका कुरालाई लिपिबद्ध गरेर समस्या समाधानका लागि सम्बन्धित तहमा पहल र पैरवी गरिने बताए । उनले कृषिलाई प्रवर्द्धन गर्न सकियो भने राष्ट्रिय अर्थतन्त्रमा पनि योगदान हुने र कृषिमा लगानी तथा युवा आकर्षण गरी उद्यमशीलतासँगै रोजगारीको सिर्जना पनि हुने भएकाले कृषिको प्रवर्द्धनको लागि सङ्घले पहलकदमी लिइएको जानकारी गराए ।

कार्यक्रममा सङ्घका कृषि परामर्शदाता डा प्रदीप शर्मा पौडेल, हेफर इन्टरनेसनलका एसोसियट डाइरेक्टर डा राम अधिकारी, बुटवल उपमहानगरपालिका कृषि विकास शाखा प्रमुख सन्तोष जिसीलगायतले नागरिको स्वास्थ्यको दृष्टिकोणले अस्पतालमा भन्दा पनि स्वास्थ्यकर खाद्य वस्तुको उत्पादनमा जोड दिनुपर्ने भनाइ राखेका थिए ।

प्रकाशित : १४ फाल्गुन २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६