प्रदेश

प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल पाल्पामा हुँदै



रामपुर, १४ फागुन । प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता आगामी फागुन १८ गते देखि पाल्पामा हुने भएको छ । फागुन १८ देखि २४ गते सम्म जिल्लाको रामपुर नगरपालिकामा हुने भएको हो ।

 जिल्ला भलिबल सङ्घ पाल्पाले पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको ७० प्रतिशत तयारी सकिएको जानकारी दिएको छ । सङ्घीयता कार्यान्वयन पश्चात् प्रदेशमा पहिलो पटक हुन लागेको प्रतियोगिता तयारीको कार्य तीव्र गतिमा भइरहेको जिल्ला भलिबल सङ्घ पाल्पाका अध्यक्ष राजु गुरुङले बताउनुभयो । उहाँले विभिन्न उपसमिति गठन गरी तयारीको कार्य चलिरहेको र ७० प्रतिशत कार्य सकिएको जानकारी दिनुभयो । खेल मैदान निर्माण, प्यारा फिट निर्माण भइरहेको उहाँले बताउनुभयो । प्रतियोगितामा नेपाल पुलिस क्लब, एपीएफ, त्रिभुवन आर्मी क्लब गरी ३ विभागीय टिम र सात प्रदेशका टिम गरी १० टिमले प्रतिस्पर्धा गर्ने बताउनुभयो । 

लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले देशको सबै भू–भागमा खेल्न सकिने भलिबल खेल प्रतिको बढ्दो आकर्षणलाई मध्यनजर गरी राष्ट्रिय महिला भलिबल प्रतियोगिता सञ्चालन गर्न लागिएको बताउनुभयो ।  प्रतियोगिता सञ्चालन गर्न अन्य जिल्लाहरूले इच्छा देखाए पनि प्रदेशकै उदाउँदो सहर भएकाले रामपुरलाई चयन गरिएको जानकारी दिनुभयो । खेल मार्फत रामपुरलाई चिनाउन र पर्यटन प्रवर्द्धन गर्नु मुख्य उद्देश्य रहेको बताउनुभयो । 

लुम्बिनी प्रदेश भलिबल सङ्घका उपाध्यक्ष योग गुरुङले भलिबलको उर्वर भूमिका रूपमा पहिचान बनाएको लुम्बिनीलाई जगाउने गरी प्रतियोगिता हुन लागेको बताउनुभयो । रामपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले केवल खेल गतिविधि मात्र नभई यो पर्यटन प्रवर्द्धन हुने गरी कार्यक्रम हुन लागेको बताउनुभयो । देशभर बाट रामपुर आउने खेलाडीको स्वागत, सत्कार र बसाइँलाई सहज बनाउन सङ्घले तयारी गरिरहेको जानकारी गराउनुभयो । पत्रकार महासङ्घ पाल्पाका उपाध्यक्ष भरत शर्माले भव्यताका साथ सफल बनाउन सबैको साथ र सहयोगको खाँचो रहेको बताउनुभयो ।

रामतुलसी माविको खेल मैदान बेझाडमा हुने प्रतियोगितामा विजेता हुने प्रथम, द्वितीय, तृतीय र सान्त्वना समूहलाई क्रमशः नगद दुई लाख ५० हजार, एक लाख ५० हजार, ७५ हजार र ३५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । 

   प्रतियोगिता सञ्चालनको लागि ८४ लाख रुपैयाँ बढी खर्च हुने अनुमान गरिएको जिल्ला भलिबल सङ्घले बताएको छ । प्रतियोगिता जिल्ला भलिबल सङ्घ पाल्पाको आयोजना, लुम्बिनी प्रदेश खेलकुद परिषद्को प्रवर्द्धन तथा प्रयोजन, नेपाल भलिबल सङ्घको संयोजन, जिल्ला खेलकुद विकास समिति पाल्पा र प्रदेश भलिबल सङ्घ लुम्बिनीको समन्वय, रामपुर नगरपालिकाको संरक्षण, रामपुर उद्योग वाणिज्य सङ्घको प्रवर्द्धनमा हुन लागेको हो । 

प्रकाशित : १४ फाल्गुन २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६