खेलकुद

नेपाली टोलीले वाफ वुमन्स च्याम्पियनसिपको उपाधिका लागि जोर्डनसँग प्रतिस्पर्धा गर्दै



काठमाडौं, १७ फागुन । नेपाली राष्ट्रिय महिला फुटबल टोली ऐतिहासिक उपलब्धि नजिक छ । साउदी अरेबियामा आज नेपाली टोलीले वाफ वुमन्स च्याम्पियनसिपको उपाधिका लागि जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार राति पौने १० बजे जेद्दाहस्थित प्रिन्स अब्दुल्लाह अल-फैसल स्पोर्ट्स सिटी मैदानमा हुनेछ ।

नेपाल र जोर्डन दुई फरकस्तरका टोली हुन् । पहिलोपटक वाफको प्रतियोगितामा सहभागी नेपालले फाइनलमा त्यस्तो प्रतिस्पर्धी पाएको छ, जसले अहिलेसम्म भएका ७ मध्ये ५ संस्करणको उपाधि जितेको छ भने डिफेण्डिङ च्याम्पियन समेत हो ।

अर्कोतर्फ यस प्रतियोगिता खेलेका ८ टिममध्ये जोर्डन सबैभन्दा माथि ७३औं स्थानमा छ । नेपाल भने १०५ औं स्थानमा छ ।

सन् २००५ मा सुरु भएको वाफ वुमन्स च्याम्पियनसिपको सुरुआती दुई संस्करण जितेको जोर्डनले २०१४ देखि पछिल्ला तीन संस्करणको उपाधि समेत जितेको थियो ।

जोर्डनले २०१४ र २०१८ मा एएफसी वुमन्स एसिया कप समेत खेलेको थियो । यस्तै तीनपटक एसियन गेम्स खेलेको छ ।

नेपालले भने अहिलेसम्म खेलेको सबैभन्दा ठूलो प्रतियोगिता एसियाली खेलकुद हो । असोजमा चीनको हान्झाउमा भएको १९औं एसियाली खेलकुदमा नेपालले विश्वकप खेलिसकेको जापान र भियतनाम जस्ता टोलीसँग खेल्ने अवसर पाएको थियो ।

नेपालले एएफसी वुमन्स कप भने खेलेको छैन । जोर्डनलाई पराजित गर्दै नेपाल पहिलो पटक महिला फुटबलको अन्तर्राष्ट्रिय उपाधि जित्ने लक्ष्यमा छ ।

यद्यपि नेपाली टोलीकी मुख्य सदस्य सावित्रा भण्डारी साम्बा भने फाइनल खेलमा उपस्थित हुने छैनन् । जारी प्रतियोगितामा एक ह्याट्रिकसहित सर्वाधिक ९ गोल गरिसकेकी सावित्रा फ्रेन्च क्लब इए गुइगाम्पको खेलका कारण फ्रान्स फर्कनु परेपछि नेपालको फाइनल खेल गुमाउने भएकी हुन् ।

युरोपियन लिग खेल्ने पहिलो नेपाली फुटबलरको इतिहास बनाएकी सावित्रा नेपाली राष्ट्रिय टिमले आफैं इतिहास बनाउन लाग्दा भने टिमसँग नहुने भएकी हुन् ।

सावित्रा नभए पनि फुटबल टिम गेम भएकोले नेपाली टिमका अन्य खेलाडीहरुका लागि अब सावित्रा जस्तै चम्कने अवसर समेत छ ।

सावित्राले समूह चरणमा सिरियाविरुद्ध १, इराकविरुद्ध ४ तथा प्यालेस्टाइनविरुद्ध २ गोल गरेकी थिइन् । यस्तै सेमिफाइनलमा लेबनानविरुद्ध १ गोल गरेकी थिइन् ।

सावित्रापछि नेपालका लागि रेखा पौडेलले २ गोल गरेकी छन् । अमिसा कार्की, अनिता बस्नेत, प्रीति राई र गीता रानाले समान एकरएक गोल गरेका छन् ।

प्रकाशित : १७ फाल्गुन २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६