काठमाडौँ, २२ कात्तिक
सैनिक कल्याणकारी कोषलाई बहालवाला तथा अवकाशप्राप्त सैनिक र तिनका आश्रित परिवारको सामाजिक सुरक्षा सुनिश्चित गर्ने संस्थागत आधारका रूपमा विकसित गरिएको छ । नेपाली सेनाले २०३२ सालदेखि सैनिक कल्याणकारी कोषमार्फत उनीहरूका लागि शिक्षा, स्वास्थ्य, सीप विकास, रोजगारी तथा आर्थिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतका अनुसार कोषको योगदान सैनिक परिवारको कल्याणमा मात्र सीमित नभई सरकारका शिक्षा, स्वास्थ्य, सीप विकास र सामाजिक सुरक्षासम्बन्धी प्रयासमा समेत सहयोगी बनेको छ । हाल १० लाख हिताधिकारीले ती सुविधा तथा सुहलियत लिएका छन्् । त्यस्तै करिब ४० हजार विद्यार्थी सैनिक विद्यालयमा छात्रवृत्तिमा अध्ययनरत छन्् भने करिब एक लाख १० हजारभन्दा बढी सकलदर्जा सहुलियतपूर्ण ऋणबाट लाभान्वित भइसकेका छन् । सैनिक कल्याणकारी कोष सैनिक परिवारलाई सुविधा उपलब्ध गराउने संयन्त्रमात्र नभई शिक्षा, स्वास्थ्य, सीप, रोजगारी र उद्यमशीलतामार्फत राष्ट्रका लागि दक्ष तथा आत्मनिर्भर नागरिक उत्पादन गर्ने संस्थागत माध्यमका रूपमा स्थापित भएको छ । सैनिक परिवारका सन्ततिलगायत सर्वसाधारणलाई गुणस्तरीय, सहुलियतपूर्ण तथा समान शैक्षिक अवसर उपलब्ध गराउँदै चिकित्सा, प्राविधिक र कृषिलगायतका क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमार्फत राष्ट्रिय जनशक्ति विकासमा कोषले योगदान पुर्याउँदै आएको उल्लेख छ । सेनाले सुलभ, गुणस्तरीय र सहज स्वास्थ्य सेवा उपलब्ध गराउँदै विशिष्टीकृत उपचार, दक्ष स्वास्थ्य जनशक्ति उत्पादन तथा परिचालनमार्फत राष्ट्रिय स्वास्थ्य प्रणालीलाई समेत सघाएको छ । हिताधिकारीको सामाजिक तथा आर्थिक सुरक्षा सुनिश्चित गर्न स्वास्थ्य तथा दुर्घटना बीमा, विपद् राहत, सहुलियतपूर्ण आवास, घडेरी तथा सवारीसाधन कर्जामार्फत सैनिक र तिनका परिवारको जीवनस्तर सुधारमा सैनिक कल्याणकारी कोषले निरन्तर योगदान दिँदै आएको छ । (सैनिक कल्याणकारी कोषका गतिविधिका सम्बन्धमा सेनाले राष्ट्रिय सामचार समिति (रासस)लाई उपलब्ध गराएको लेख यसप्रकार छः) सैनिक कल्याणकारी कोषः सामाजिक सुरक्षा र समृद्धिको आधार कुनै पनि राष्ट्रको सुरक्षा व्यवस्था सुदृढ बनाउन सैन्य सङ्गठनको व्यावसायिक क्षमता, दक्षता र मनोबल जति महत्त्वपूर्ण हुन्छ, सैनिक तथा तिनका परिवारको सामाजिक सुरक्षा र कल्याण पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । राष्ट्र र नागरिकको सुरक्षामा आफ्नो जीवनको महत्त्वपूर्ण समय समर्पण गर्ने सैनिक तथा सेवाबाट अवकाशप्राप्त गरेपछि पनि सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनयापन गर्न सक्ने वातावरण निर्माण गर्नु राज्यको दायित्व हो । यही दायित्वलाई संस्थागत रूपमा सम्बोधन गर्दै नेपाली सेनाले २०३२ सालदेखि सैनिक कल्याणकारी कोषमार्फत बहालवाला तथा अवकाशप्राप्त सैनिक र तिनका आश्रित परिवारको शिक्षा, स्वास्थ्य, सीप विकास, रोजगारी तथा आर्थिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्दै आएको छ । शिक्षामा योगदान सैनिक परिवारका सन्ततिलाई गुणस्तरीय तथा सहुलियतपूर्ण शिक्षा प्रदान गर्नुका साथै राष्ट्रलाई आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले कोषले सैनिक विद्यालय तथा महाविद्यालय, मेडिकल, नर्सिङ, पोलिटेक्निक्स र नेपाली सेना कृषि विज्ञान संस्थानमार्फत शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ । यी संस्थाबाट हालसम्म एक हजार ७४ चिकित्सक, दुई हजार ७६ नर्स, ५५ प्राविधिक जनशक्ति र ४०९ कृषिविज्ञ उत्पादन भइसकेका छन् । सैनिक विद्यालय तथा महाविद्यालयबाट करिब ३० हजार र प्राविधिक महाविद्यालयबाट करिब चार हजार सैनिक तथा गैरसैनिक विद्यार्थी दीक्षित भएका छन् । शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले विभिन्न जिल्लाका २४४ उत्कृष्ट सम्झौताबद्ध शैक्षिक संस्थामार्फत चार हजार ६०० सैनिक परिवारका सन्ततिलाई अध्ययन सुविधा उपलब्ध गराइएको छ । हाल करिब ४० हजार विद्यार्थी सैनिक विद्यालयहरूमा अध्ययनरत रहेका छन् । साथै, सैनिक विद्यालय, महाविद्यालय तथा सम्झौताबद्ध संस्थामा अध्ययनको अवसर नपाएका करिब ३५ हजार हिताधिकारीका एक सन्ततिलाई प्रतिविद्यार्थी वार्षिक एकमुष्ट २५ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिँदै आएको छ । यसले आर्थिक अवस्थाका कारण सैनिक परिवारका सन्तति शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्था न्यूनीकरण गर्दै समान शैक्षिक अवसर विस्तार गरेको छ । यसरी कोषका शैक्षिक संस्थाहरू सैनिक परिवारको शैक्षिक उन्नतिसँगै राष्ट्रिय जनशक्ति उत्पादनका महत्त्वपूर्ण केन्द्र बनेका छन् । सुलभ स्वास्थ्य सेवा र राष्ट्रिय स्वास्थ्य प्रणालीमा योगदान विसं १९८३ मा त्रिभुवन चन्द्र मिलिटरी अस्पताल स्थापनासँगै सुरु भएको सैनिक स्वास्थ्य सेवा विस्तार हुँदै हाल वीरेन्द्र सैनिक अस्पताल केन्द्रीय तथा विशिष्टीकृत अस्पतालका रूपमा स्थापित भएको छ । यसका अतिरिक्त देशका सबै प्रदेशमा सञ्चालित सैनिक तथा फिल्ड अस्पताल र तोकिएका अन्य अस्पतालबाट हिताधिकारीलाई स्वास्थ्य सेवा उपलब्ध गराइँदै आएको छ । सैनिक अस्पतालबाहेक तोकिएका १८ गैरसैनिक अस्पतालमा उपचार गराउँदा लाग्ने खर्चसमेत शोधभर्ना गर्ने व्यवस्था छ । जटिल रोगका बिरामीका लागि बहिरङ्ग उपचार सुविधाको वार्षिक सीमा वृद्धि, औषधि व्यवस्थापनमा सुधार तथा डिजिटल प्रणालीमार्फत सेवा प्रवाहलाई व्यवस्थित बनाउने कार्यले स्वास्थ्य सेवा थप सहज भएको छ । आर्थिक वर्ष २०८२÷८३ मा उपचार सेवाबाट करिब पाँच लाख हिताधिकारी लाभान्वित भएका छन् भने जटिल प्रकृतिका रोग लागेका एक हजार २६ जना बिरामीले रु एक लाख ६० हजारसम्मको उपचार सेवा उपभोग गरेका छन् । आवश्यक स्वास्थ्य जनशक्ति व्यवस्थापन, छात्रवृत्तिमा अध्ययन पूरा गरेका चिकित्सक तथा नर्सको परिचालन र वेलफेयर म्यानपावर म्यानेजमेन्ट (डब्लुएमएम)प्रणालीमार्फत डिजिटल अभिलेखीकरणले स्वास्थ्य सेवा व्यवस्थापनलाई थप प्रभावकारी बनाएको छ । यसले सैनिक परिवारको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्नुका साथै सरकारको समग्र स्वास्थ्य सेवा प्रणालीलाई पूरक सहयोग पुर्याएको छ । सीप, उद्यमशीलता र अवकाशपछिको आत्मनिर्भरता सैनिक सेवाबाट प्राप्त अनुशासन, अनुभव, नेतृत्व क्षमता र व्यावसायिक दक्षतालाई अवकाशपछि पनि उत्पादनमूलक क्षेत्रमा उपयोग गर्न सकिन्छ । यही सम्भावनालाई अवसरमा रूपान्तरण गर्न कोषले सीप विकास, रोजगारी, उद्यमशीलता र स्वरोजगारलाई प्राथमिकता दिएको छ । प्रत्येक प्रदेशमा रहेका इपिसेन्टरमार्फत सैनिक परिवार तथा अवकाशप्राप्त सैनिकलाई उद्योग, व्यवसाय र कृषि क्षेत्रमा सहुलियतपूर्ण कर्जा, उद्यमशीलता प्रवर्द्धन तथा व्यावसायिक तालिम उपलब्ध गराउँदै आएको छ । विशेषगरी अवकाशप्राप्त सैनिकलाई रोजगारी खोज्ने व्यक्तिमा मात्र सीमित नराखी आफ्नै ज्ञान, सीप र अनुभवका आधारमा व्यवसाय तथा स्टार्टअप सञ्चालन गर्न सक्षम बनाउने लक्ष्य लिइएको छ । आवश्यक तालिम, सहुलियतपूर्ण कर्जा र उद्यमशीलताका अवसरले उनीहरूलाई आत्मनिर्भर बनाउनुका साथै स्थानीय उत्पादन, रोजगारी सृजना र राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउने आधार तयार गरेको छ । कोषका विभिन्न निकायमा करिब दुई हजार २०० जनशक्तिले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् भने व्यावसायिक तालिम केन्द्रमार्फत हालसम्म आठ हजारभन्दा बढी हिताधिकारीलाई सीपमूलक तालिम प्रदान गरिएको छ । सामाजिक सुरक्षा र आर्थिक सहुलियत शिक्षा, स्वास्थ्य र रोजगारीका अतिरिक्त हिताधिकारीको सामाजिक तथा आर्थिक सुरक्षालाई पनि कोषले प्राथमिकता दिएको छ । गम्भीर रोगका बिरामीका लागि स्वास्थ्य बीमा, कर्तव्यपालनका क्रममा मृत्यु भएका सैनिकका परिवारका लागि दुर्घटना बीमा तथा दैवी र प्राकृतिक प्रकोपबाट प्रभावित हिताधिकारीलाई आर्थिक राहत उपलब्ध गराइँदै आएको छ । सहुलियतपूर्ण आवास तथा घडेरी कर्जा, सवारीसाधन खरिदका लागि सहुलियत ऋण र अन्य आर्थिक सहायता कार्यक्रमले सैनिक परिवारको आर्थिक सुरक्षा र जीवनस्तर सुधारमा सहयोग पुर्याएका छन् । हालसम्म करिब एक लाख १० हजारभन्दा बढी सकलदर्जा सहुलियतपूर्ण ऋणबाट लाभान्वित भइसकेका छन् । सैनिकको सेवाअवधि समाप्त भए पनि उनीहरू र परिवारप्रतिको संस्थागत जिम्मेवारी निरन्तर रहन्छ भन्ने मान्यतालाई यी कार्यक्रमले व्यवहारमा उतारेका छन् । कोषको दिगोपन र राष्ट्रिय अर्थतन्त्रमा योगदान हाल १० लाख हिताधिकारी रहेको कोषमा लाभग्राहीको बढ्दो सङ्ख्या र आयस्रोतमा देखिएको सङ्कुचनले दीर्घकालीन आर्थिक दिगोपनलाई चुनौती दिएको छ । बैङ्कबाट प्राप्त हुने ब्याज आम्दानीमा आएको गिरावट तथा संयुक्त राष्ट्रसङ्घबाट शान्ति सैनिकको सङ्ख्या र बजेटमा गरिएको कटौतीले कोषको आयमा प्रत्यक्ष तथा परोक्ष प्रभाव पारेको छ । यस्तो अवस्थामा आयस्रोत विविधिकरण र दीर्घकालीन प्रतिफल दिने परियोजनामा लगानी गर्नु आवश्यक देखिन्छ । यसै सन्दर्भमा कोषको आय अभिवृद्धि तथा नेपाल सरकारको वैकल्पिक ऊर्जा नीतिलाई सहयोग पुर्याउने उद्देश्यले रुपन्देहीको सैनामैनामा करिब १० मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजना सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । यसले कोषको दीर्घकालीन आयस्रोत विविधिकरण गर्नुका साथै स्वच्छ ऊर्जाको विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ । अर्कातर्फ, कल्याणकारी कोषले नेपाल सरकारलाई वार्षिक रूपमा करिब रु ७० करोडसम्म कर बुझाउँदै आएको छ । यसबाट सैनिक परिवारको कल्याणसँगै राज्यको राजस्व र राष्ट्रिय अर्थतन्त्रमा समेत कोषको योगदान स्पष्ट हुन्छ । समग्रमा सैनिक कल्याणकारी कोष बहालवाला तथा अवकाशप्राप्त सैनिक र तिनका आश्रित परिवारको सामाजिक सुरक्षा सुनिश्चित गर्ने संस्थागत आधारका रूपमा विकसित भएको छ । सैनिक परिवारका सन्ततिलाई शिक्षा प्रदान गर्नु, चिकित्सक, नर्स, प्राविधिक तथा कृषि विज्ञ उत्पादन गर्नु, स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नु र सीप तथा उद्यमशीलतामार्फत आत्मनिर्भर नागरिक निर्माण गर्नु यसको महत्त्वपूर्ण योगदान हो । यसले सरकारका शिक्षा, स्वास्थ्य, रोजगारी तथा सामाजिक सुरक्षासम्बन्धी प्रयासलाई समेत सहयोग पुर्याएको छ । राष्ट्रको सुरक्षामा जीवन समर्पण गर्ने सैनिक र तिनका परिवारलाई सेवामा रहँदामात्र नभई अवकाशपछि पनि सुरक्षित, सम्मानित र आत्मनिर्भर जीवनयापनको आधार उपलब्ध गराउनु यस कोषको मूल मर्म हो । त्यसैले बढ्दो दायित्वअनुरूप कोषलाई आर्थिक रूपमा दिगो, सेवामुखी र समयसापेक्ष बनाउँदै लैजानु आवश्यक छ । सैनिक परिवारको कल्याण, दक्ष नागरिक उत्पादन र राष्ट्रिय समृद्धिमा योगदान गर्ने साझा उद्देश्य बोकेको सैनिक कल्याणकारी कोष नेपाली सेनाप्रतिको विश्वास, आत्मीयता र संस्थागत गौरव अभिवृद्धि गर्ने महत्त्वपूर्ण आधारसमेत हो । —









प्रतिक्रिया