प्रदेश

उखु उत्पादनमा वृद्धि भएपछि चिनी मिलले पनि बढाए लक्ष्य



रुपन्देही, १७ फागुन । लुम्बिनी प्रदेशमा गत वर्षको तुलनामा उखु उत्पादन वृद्धि भएको छ । उखु उत्पादन बढेसँगै प्रदेशमा रहेका चिनी मिलले पनि आफ्नो लक्ष्य बढाएका छन् ।

लुम्बिनी प्रदेशमा रहेका ३ वटा चिनी मिलले गत वर्षको तुलनामा बढी उखु क्रसिङ गर्ने लक्ष्य राखेका छन् । विगतमा कतिपय किसानले समयमै भुक्तानी नपाइने भन्दै उखु खेती गर्न छाड्दै आएका थिए । भुक्तानीको समस्या हल भएपछि फेरि किसानहरू उखु खेतीतिर फर्कन थालेका हुन् ।

लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये नवलपरासी र कपिलवस्तुमा चिनी मिललाई लक्षित गरेर उखु उत्पादन गरिन्छ । अन्य जिल्लामा उत्पादित उखु भने प्रायः खुदो र जुसका लागि प्रयोग हुँदै आएको छ ।

कपिलवस्तुमा रहेको महालक्ष्मी सुगर मिल सर्लाही जिल्लामा सरेपछि कपिलवस्तुका किसानले नवलपरासीस्थित चिनी मिललाई उखु बिक्री गर्दै आएका छन् । नवलपरासीमा ३ वटा मिलले अहिले उखु क्रसिङ गरिरहेका छन् ।

ती चिनी मिललाई जिल्लामा उत्पादित उखुले मात्रै पुग्दैन । त्यसैले कपिलवस्तु लगायत आसपासका जिल्लाका साथै भारतीय सीमावर्ती क्षेत्रबाट समेत उनीहरूले उखु खरिद गर्दै आएका छन् ।

उखु किसान महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष एवं नवलपरासीको प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले नवलपरासीमा गत वर्ष २० लाख क्विन्टल उखु उत्पादन भएकोमा अहिले बढेर २५ लाख क्विन्टल पुगेको बताए । यस्तै कपिलवस्तुमा ४ लाख क्विन्टल उखु उत्पादन भएको छ ।

उखुको पकेट क्षेत्र नवलपरासीको जिल्लाको प्रतापपुर र सुस्ता गाउँपालिका हो । प्रतापपुर गाउँपालिका– ३, सेमरीका रामप्रसाद जोशीले उखुको रकम समयमै भुक्तानी नहुँदा केरा खेती गर्दै आएका थिए । तर यो वर्ष उनले साढे ३ बिघा क्षेत्रफलमा उखु लगाएका छन् ।

‘केरा खेतीमा धेरै जोखिम हुन्छ । किनकि हावाहुरीले केराको बोट ढाल्ने समस्या हुन्छ,’ उनले भने, ‘उखुमा भुक्तानीको मात्र समस्या हो, त्यो समाधान हुँदा केरा खेतीभन्दा उखु नै सजिलो हो ।’

उनले अहिले १५ सय क्विन्टल उखु उत्पादन भएको सुनाए । उनले लुम्बिनी सुगर मिल र बागमती खाँडसरी चिनी मिललाई उखु बिक्री गरेको बताए । पालिका अध्यक्ष यादवले जिल्लाका किसानहरू फेरि उखु खेतीतर्फ आकर्षित भएको बताए ।

प्रकाशित : १७ फाल्गुन २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६