प्रदेश

भारत लैजाँदै गरेको युवतीको उद्धार, तीन जना पक्राउ



नेपालगन्ज, २६ फागुन । भारतीय दलालसँग मिलेर नेपाली दलालले नेपाली युवतिहरूलाई राम्रो रोजगारको प्रलोभनमा पारेर सिमाना कटाई भारत लगेर जोखिमपूर्ण काममा लगाउने वा बेचबिखन गर्ने गरिएको पाइएको छ ।

मानव बेचबिखनका लागि निकै संवेदनशील मानिएको बाँकेको सीमाक्षेत्रबाट सशस्त्र प्रहरी बल नम्बर ३० गण बाँके मातहतका निकायले ललाइफकाइ भारत लैजान थालिएकी एक १८ वर्षीया युवतीको उद्धार गरेर तीन जना दलाललाई नियन्त्रणमा लिन सफल भएको छ ।

नेपाली र भारतीय दलालको एउटा समूहले ललाइफकाइ गरी भारत लैजान लागेको अवस्थामा सशस्त्र प्रहरीले बाग्लुङ्गकी १८ वर्षीया एक युवतीको उद्धार गरेको हो ।

बाँकेको डुडुवा गाउँपालिका–१ खडैचास्थित बिओपीबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक ओमप्रकाश ढकालको नेतृत्वमा गएको मोबाइल चेकपोष्ट र पिआरसीको संयुक्त टोलीले ती युवतीलाई उद्धार गर्नुका साथै भारत लैजाने कार्यमा संलग्न तीन जना दलाललाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बाँकेले जनाएको छ ।

सशस्त्र प्रहरीका अनुसार पक्राउ पर्नेमा रोल्पाका टुकबहादुर खत्री, भारत श्रावस्ती बस्ने चन्द्रा ओली र सोही ठाउँ बस्ने राम सुरेश रहेका छन् । उनीहरूले मोटरसाइकलमा हालेर ती युवतीलाई भारत लैजान लागेको अवस्थामा युवतीको उद्धार गरिएको हो ।

उद्धार गरिएकी युवतीलाई सेल्टरमा राख्नुका साथै भारत लैजाने कार्यमा संलग्नहरूलाई थप कानुनी कारबाही गर्न प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरी बल नम्बर ३० गणका गणपति एवम् सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगीले बताउनुभयो ।

उहाँले मानवबेचबिखन जस्ता आपराधिक गतिविधि रोक्नका लागि सशस्त्र प्रहरी चनाखो रहेको जनाउँदै यस्ता गतिविधि सिमानामा कुनै पनि हालतमा हुन नदिन प्रहरीले निगरानी बढाउँदै लगेको बताउनुभयो ।

यहाँस्थित नेपाल भारत मुख्य नाका जमुनाहा नाकामा प्रहरी र विभिन्न सङ्घसंस्थाले मानवबेचबिखन विरुद्ध कडाइ गर्नुका साथै निगरानी बढाउँदै गएपछि साइड नाकाहरूबाट युवतीलाई भारत छिराउने गरिएको सूचना आइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २६ फाल्गुन २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६