प्रदेश

सिद्धबाबा सुरुङमार्ग निर्माणः २० प्रतिशतभन्दा बढी काम पूरा



तानसेन, ०४ चैत । सिद्धबाबा सुरुङमार्गको निर्माणले गति लिएको छ । पछिल्लो चार महिनादेखि निर्माणलाई गति दिँदा हालसम्म २० प्रतिशतभन्दा बढी काम पूरा भइसकेको आयोजना पक्षले जनाएको छ ।

यस सुरुङमार्गलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा सरकारले उच्च प्राथमिकतामा राखेको छ । हालसम्म दक्षिणतर्फको ढोकाबाट ३४ मिटर सुरुङ खनिएको छ भने उत्तरतर्फको ढोकाबाट दुई मिटर सुरुङ खनिएको छ । यस्तै सेफ्टी ढोका र रकनेट बिछ्याउने कामले पनि गति लिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्माले जानकारी दिनुभयो । सरकारको प्राथमिकतामा परेको आयोजनाको काम पछिल्लो समय सन्तोषजनक रूपमा प्रगति भएको र निर्माण व्यवसायीलाई समयमै सक्न ताकिता गरिएको उहाँले बताउनुभयो ।

गत वर्ष २०७९ फागुनदेखि नै सुरुङमार्ग निर्माणको काम सुरु भए पनि गत बर्सातमा सुरुङमार्गको ढोकामाथिबाट पहिरो खसेपछि चार महिना काम रोकिएको थियो । हाल रातको समयमा काम गर्न थालेपछि कामले गति लिएको हो । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक अन्तर्गत बुटवलको तल्लो सिद्धबाबादेखि पाल्पाको दोभान चौकीसम्मको करिब तीन किलोमिटर सडक क्षेत्र पहिरोका कारण जोखिमयुक्त भएकाले सुरुङमार्ग बनाउने योजना अगाडि बढेको हो ।

सुरुङमार्ग निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले एक हजार १२६ मिटर लम्बाइको सुरुङमार्गका लागि सात अर्ब ३४ करोड रुपियाँमा सम्झौता गरेर काम भइरहेको छ । सुरुङमार्ग बनेपछि यस क्षेत्रमा खस्ने पहिरो रोकिने विश्वास गरिएको छ । सिद्धार्थ राजमार्ग हुँदै पाल्पा, गुल्मी, स्याङ्जा, रुपन्देही, अर्घाखाँची, बागलुङलगायतका जिल्लामा आवतजावत हुने गरेको छ ।

यसैबिच उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सिद्धबाबा सुरुङ निर्माणको काम समयमै सक्न निर्देशन दिनुभएको छ । पाल्पाको सिद्धबाबा क्षेत्रमा निर्माण भइरहेको सुरुङमार्गको स्थलगत निरीक्षण गर्दै मन्त्री महासेठले राष्ट्रिय गौरवको आयोजनामा ढिलाइ गर्नेमाथि छुट नदिइने बताउनुभयो ।

निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गलाई समयअगावै सक्न मन्त्री महासेठले निर्माण व्यवसायीलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “निर्माणका क्रममा कुनै अवरोध भए सरकार सहयोग गर्न तयार छ तर कुनै पनि वहाना बनाएर निर्माणमा रोक्न पाइन्न, समयमै सक्न निर्माण कम्पनीलाई सरकारका तर्फबाट निर्देशन छ ।” आयोजना समयमै सक्नुपर्ने र त्यसका लागि सरकार सबै खालको सहयोग गर्न तयार रहेको उहाँले उल्लेख गर्नुभयो ।

सुरुङमार्ग राष्ट्रिय गौरवको आयोजनाका रूपमा सरकारले उच्च प्राथमिकतामा राखेकाले यसलाई सफल बनाउन आकस्मिक रूपमा निरीक्षण गरिएको उहाँले बताउनुभयो । मन्त्री महासेठले सुरुङमार्ग निर्माणमा सरकारका तर्फबाट बजेटको पनि कमी हुन नदिने प्रतिबद्धता जनाउनुभयो ।

प्रकाशित : ४ चैत्र २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६