देश

सहकारी घोटालामा रवि लामिछानेको संलग्नता देखिएको छैन, कांग्रेसले राजनीतिकरण नगरोस्ः प्रधानमन्त्री



काठमाण्डौ, ०६ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारीको रकम घोटाला प्रकरणमा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिन जरुरी नरहेको बताउनुभएको छ । सहकारीको रकम घोटालामा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै नेपाली कांग्रेसले आज प्रतिनिधि सभाको बैठकमा जवाफ मागेपछि प्रचण्डले जवाफ दिनुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री लामिछाने सहकारीको सञ्चालक समिति, लेखा समिति, ऋण समिति लगायत कतै पनि नरहेको र अदालतमा दर्ता भएको मुद्दामा पनि उहाँ कतै संलग्न नदेखिएको बताउनुभयो । शुरुमा सूर्यदर्शन सहकारीका एक हजार जना पीडितले दिएको उजुरीमा लामिछानेको नाम नरहेको तर मूल उजुरी परेको छ महिनापछि कास्कीमा पूरक उजुरी परेको र त्यहाँ कुनै पनि प्रमाण र आधार उल्लेख नरहेको प्रचण्डले जवाफ दिनुभयो । यो सरकार गठन हुनुअघि नै रवि लामिछानेको नाममा प्रवाह भएको ऋण फर्स्योट भइसकेकाले अनुसन्धान गर्न नपर्ने प्रहरीले बताएको प्रधानमन्त्रीको दाबी छ ।

लामिछाने मन्त्री बनेपछि यो विषयलाई उचालेर संसद्का काम कारबाही प्रभावित गर्नु कति उचित हो भनेर नेपाली कांग्रेसले नै ख्याल गर्नुपर्ने विषय भएको प्रधानमन्त्रीको भनाइ छ । अनुसन्धानबाट कुनै कैफियत देखिएमा लामिछानेलाई कारबाही गर्न कसैले रोक्न नसक्ने प्रचण्डले बताउनुभयो । ठाडो उजुरीकै आधारमा राजीनामा माग्ने र दिने कुरा उचित नहुने भन्दै प्रधानमन्त्री प्रचण्डले यो विषयलाई राजनीतिकरण नगर्न पनि कांग्रेससँग आग्रह गर्नुभएको छ ।

प्रकाशित : ६ चैत्र २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६