प्रदेश

बुटवलका तत्कालीन डीएसपी ठगबहादुर केसी भ्रष्टाचारी ठहरः दुई वर्ष कैद र साढे ८ जरिवानाको फैसला



बुटवल, २० चैत्र ।
इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । अदालतले तत्कालीन डीएसपी केसीलाई २ वर्ष कैद र साढे ८ लाख रुपियाँ बिगो तथा जरिवानाको फैसला सुनाएको हो ।

डीएसपी केसीले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ को खण्ड ङ को कसुर गरेको भन्दै अदालतले कैद सजायँ र जरिवानाको फैसला सुनाएको हो ।

बुटवलमा कार्यरत रहँदा डीएसपी केसीको निवासबाट अख्तियारले नगद र सुन बरामद गरेको थियो । अख्तियारले १८ लाख रुपैयाँ बिगो दाबी गर्दै उनीविरुद्ध गत भदौ १३ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । मंगलबार न्यायधीहरु टेकनारायण कुँवर, तेजनारायण सिंह राई र रितेन्द्र थापाको संयुक्त इजलाशले अन्तिम फैसला सुनाएको हो ।

२५ मंसिर २०७९ मा बुटवल उपमहानगरपालिका– ५ हाटबजार नजिकबाट ३४ तोला २१ लाल ७ प्वाइन्ट सुन लिएर गएका केसीले यस बारेमा कार्यालयमा जानकारी नगराएको अख्तियारले जनाएको थियो ।

पछि उनले सुन फिर्ता लगेको कागज गर्न लगाएको, तर सुन फिर्ता नगरी आफैसँग राखेका थिए । त्यस क्रममा उनले दुईजनासँग क्रमशः ८ लाख ५० हजार र ९ लाख ५० हजार गरी १८ लाख रुपैयाँ घुस लिएको पाइएको अख्तियारले बताएको थियो । त्यसपछि उनी पदबाट बर्खास्त भएका थिए ।

त्यस्तै डीएसपी ठगबहादुर केसीविरुद्ध अदालतमा बयान फेरेको आरोपमा मुद्दा दायर गरिएका बुटवलका खिलेन्द्र सिंह जिसीलाई पनि विशेष अदालतले दोषी ठहर गर्दै साढे १ वर्ष कैद र ९ लाख ५० हजार रुपियाँ बिगो तथा जरिवानाको फैसला सुनाएको छ ।

अभियोजनमा सरकारी साक्षीका रुपमा प्रस्तुत गरिएका बुटवल उपमहानगरपालिका– ४ लक्ष्मीपुरका जिसीविरुद्ध अख्तियारले विशेष अदालतमा अभियोगपत्र दायर गरेको थियो । जीसीले केसीलाई सफाइ हुने नियत राखेर अदालतमा बयान फेरेको अख्तियारले दावी गरेको छ । अख्तियारको उक्त दावीलाई विशेष अदालतले सही ठहर्याउँदै जिसीलाई पनि कसुरदार ठहर गरेको हो ।

प्रकाशित : २० चैत्र २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६