प्रदेश

लुम्बिनीको मुख्यमन्त्रीमा जोखबहादुर महराको दाबी पेस



कपिलवस्तु, २३ चैत्र।

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले दाबी पेस गरेका छन्। उनले शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष बहुमत सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।

उनलाई मुख्यमन्त्री बनाउन नेकपा एमालेका २९, माओवादीका १०, जनता समाजवादी पार्टीका ३, एकीकृत समाजवादी १ र एकजना स्वतन्त्र प्रदेशसभा सदस्यसहित ४४ जनाले हस्ताक्षर गरेका छन्। दाबी पेश गरिएपछि प्रदेश प्रमुख अमिक शेरचनले महरालाई शुक्रबार नै मुख्यमन्त्री नियुक्त गर्ने तयारी गरेका छन्।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले बिहीबार पदबाट राजीनामा दिएका थिए। उनले बिहीबार प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएका थिए। फागुन २१ गते एमाले र माओवादीसहित पाँच दल मिनेर नयाँ गठबन्धन बनेसँगै चौधरी सरकार संकटमा परेको थियो।

नयाँ गठबन्धन बनेपछि चौधरीले गत फागुन २३ गते नेकपा (माओवादी केन्द्र) बाट मन्त्रीहरू धनबहादुर मास्की र कृष्णा केसी (नमुना) लाई बर्खास्त गरेका थिए।

अर्थ र सहरी विकास मन्त्री रहेका दुवैजनालाई बर्खास्त गरेसँगै त्यहाँको सरकारलाई दिएको समर्थन माओवादीले फिर्ता लिएको थियो। त्यससँगै मुख्यमन्त्री चौधरी अल्पमतमा परेका थिए।

यस्तोमा मुख्यमन्त्री चौधरीसँग विश्वासको मत लिने या राजीनामा दिने दुई विकल्प थिए। उनले संसद्को फेस नगरी पद त्यागेका हुन्। यसअघि बिहीबार नै लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्थापनमन्त्री भण्डारीलाल अहिरले राजीनामा दिएका थिए।

जनता समाज पार्टीका तर्फबाट मन्त्री भएका आहिरले पदबाट राजीनामा दिएसँगै चौधरीको संकट बढेको थियो। नयाँ सत्ता गठबन्धनमा समावेश जसपाले मुख्यमन्त्री चौधरीलाई विश्वासको मत नदिने भएपछि अहिरले राजीनामा दिएका थिए। २०८० वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका चौधरीले १९ गते विश्वासको मत लिएका थिए।

चौधरीको पक्षमा ५३ मत र विपक्षमा २९ मत खसेको थियो। कांग्रेसका तर्फबाट मुख्यमन्त्री भएका चौधरीलाई माओवादी केन्द्र, नागरिक उन्मुक्ती पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसदले विश्वासको मत दिएका थिए।

प्रकाशित : २३ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६