प्रदेश

विकृतिसँगै सकारात्मक पक्षलाई मिडियाले उजागर गर्नुपर्छः सञ्चार मन्त्री शर्मा



तानसेन,२४ चैत्र । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले समाजमा भएका विकृति विसङ्गतिसँगै सकारात्मक पक्षलाई मिडियाले उजागर गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाद्वारा शनिबार तानसेनमा आयोजित पत्रकार भेटघाटमा उहाँले समाजमा भएका सकारात्मक पक्षलाई उजागर गर्दै जनतामा आशाको सञ्चार गर्न आग्रह गर्नुभयो ।

जनताको पक्षमा काम हुन्छ, गर्न सकिन्छ भन्ने आशाको सञ्चार गर्ने गरी सरकारले सुशासन, न्याय र समृद्धिको कामलाई अगाडि बढाएको मन्त्री शर्माले बताउनुभयो । वर्तमान सरकारले केही देखिने गरी काम गरिरहेको दाबी गर्नुहुँदै उहाँले सत्तामा बसेका दिनसम्म राम्रो गर्नुपर्छ भावनासहित आफू सक्रिय रहेको बताउनुभयो ।

संविधान, व्यवस्था र शासकीय स्वरूपका कारण सत्तासमीकरण परिवर्तन भए पनि त्यसले राम्रो काम गर्नका लागि कुनै असर नगर्ने दाबी उहाँले गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘जतिदिन सत्ता र पदमा बसिन्छ, त्यतिदिन जनताको पक्षमा काम गर्नुपर्छ भन्ने भावनाले क्रियाशील हुने हो ।’’ शासकीय स्वरूप र संविधानले मार्ग निर्देशन गरेअनुसार अहिलेको व्यवस्था अनुसार जनता चाहना अनुसार काम गर्नुपर्नेमा सरकार दृढ रहेको मन्त्री शर्माको भनाइ छ ।

सरकार कति दिन टिक्छ भनेर आफूले अहिले नै भन्न नसक्ने अवस्था रहेको उहाँले उल्लेख गर्नुभयो । लामो समयसम्म सहकार्य गर्ने गरी पाँच दलका बिचमा सहमति भएको र सोही अनुसार सरकारका साझा कार्यक्रम बनाएर सरकार अघि बढेको मन्त्री शर्माले जानकारी दिनुभयो ।

सार्वजनिक पदमा बसेका मानिसको सम्पत्ति छानबिन गर्न सबैको सहमति भयो भने सरकारले त्यस मुद्दालाई अघि बढाउन कुनै अप्ठ्यारो नमान्ने शर्माले बताउनुभयो । कहिले केही दलका नेता र सांसदमा पनि यो विषयको मुद्दा उठाएको बताउनुहुँदै उहाँले सम्पत्ति छानबिन गर्न आफू व्यक्तिगत रूपमा सकारात्मक रहेको मन्त्री शर्माले धारणा राख्नुभयो ।

साइबर सुरक्षा पोसिली बनेको र त्यो अहिले कार्यान्वयनको चरणमा रहेको र कानुन बन्ने प्रक्रियामा रहेको उहाँले बताउनुभयो । उहाँले पछिल्लो समय विकास भएको सूचना र प्रविधिलाई समेटेर नयाँ कानुन बनाउने कामको थालनी भएको बताउनुभयो ।

अहिले मन्त्रालय र मातहतका निकायबाट हुन सक्ने पत्रकार परिचयपत्र निजीकरण, रेडियोको नवीकरणलगायतका क्षेत्रमा काम भएको जानकारी दिनुभयो । सञ्चार क्षेत्रलाई बलियो बनाउन नीतिगत रूपमै पुराना ऐन, कानुनको संशोधन गरेर अघि बढ्ने काम भइरहेको उहाँको भनाइ छ । मन्त्रालयबाट सबै प्रदेशमा सञ्चार ग्राम बनाउने योजनाअनुसार काम अघि बढेको, महिला पत्रकारको क्षमता अभिवृद्धिको काम भइरहेको मन्त्री शर्माको भनाइ छ ।

प्रकाशित : २४ चैत्र २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६