प्रदेश

कपिलवस्तु नगरपालिकाले ६० किस्तामा १५ वर्षदेखिको बक्यौता महसुल तिर्ने




कपिलवस्तु, २६ चैत्र । कपिलवस्तु नगरपालिकाले २०६५ सालदेखिको सडक बत्तीको विद्युत् महसुल बक्यौता तिर्ने भएको छ । डेढ दशकदेखिको सडक बत्तीको करिब ५ करोड रुपैयाँ बराबरको विद्युत् महसुल बक्यौता तिर्न नगरपालिका सहमत भएको हो ।

नेपाल विद्युत् प्राधिकरणको तौलिहवा वितरण केन्द्र र नगरपालिकाबीच आइतबार ६० किस्तामा अहिलेसम्मको सबै विद्यु्त् बक्यौता तिर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ । सहमतिअनुसार वितरण केन्द्रले नगरपालिकालाई सम्पूर्ण विद्युत महसुल बक्यौता तिर्न ६० किस्ताको सुविधा दिनेछ ।

आगामी वैशाख ७ गतेभित्र नगरपालिकाले मोडालिटी तयार गरी पहिलो किस्ता बैशाखबाटै तिर्न सुरु गर्ने सहमति बनेको वितरण केन्द्र प्रमुख गौरव पाण्डेले बताए । ‘नगरपालिकाले सडक बत्ती जडान गरेदेखिकै विद्युत् महसुल तिरेको थिएन,’ उनले भने, ‘हामीले ३ महिनादेखि निरन्तररूपमा ताकेता गरेपछि नगरपालिका अहिलेसम्मको सबै बक्यौता तिर्न सहमत भएको छ ।’

उनले नयाँ बिलको महसुल भने चैत महिनाबाटै नियमितरूपमा उठाउन सुरु गर्ने सहमति बनेको बताए । नगरपालिकाले २०६५ सालदेखि सडक बत्ती बाल्दै आएको भए पनि अहिलेसम्म विद्युत महसुल तिरेको थिएन । १५ वर्षदेखिको बाँकी बक्यौता बढेर ४ करोड ९७ लाख ९८ हजार ६ सय २६ रुपैयाँ पुगेपछि बल्ल तिर्ने सहमति बनेको हो ।

वितरण तथा ग्राहक सेवा निर्देशनालयको निरन्तरको आह्वान निरन्तररूपमा ताकेता गरेर अनुरोध गरेपछि प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालको समन्वय र नगरपालिकाका मेयर सुदिप पौडेलको सहयोगमा सडक बत्तीको विद्युत महसुल बक्यौता उठाउने प्रक्रिया निश्कर्षमा पुगेको पाण्डेले बताए ।

नगरपालिका क्षेत्रमा प्राधिकरणको वितरण प्रणालीबाट चलेका ६ हजार ७ सय ७० सडक बत्ती छन् । यी मध्ये अधिकांश बत्ती २४ घन्टा नै बलिरहने गरेकाले तिनको पनि अब नियमन गर्ने उनले बताए ।

नगरपालिका क्षेत्रभित्र बालिएका सडक बत्तीको मिटर नहुँदा विद्युत प्राधिकरणलाई महसुल उठाउन समस्या थियो । अब पहिलो चरणमा प्राधिकरणले नै सडक बत्तीका लागि २१० वटा पोलमा तार तानेर मिटर राख्ने सहमति पनि नगरपालिकासँग बनेको वितरण केन्द्रले जनाएको छ ।

कपिलवस्तु जस्तै देशका अधिकांश स्थानीय तहले नियमितरूपमा सडक बत्तीको विद्युत महसुल तिरेका छैनन् । प्राधिकरणले पछिल्लो समय वर्षौंदेखिको विद्युत बक्यौता उठाउन ताकेता गर्दै आएको छ ।

प्रकाशित : २६ चैत्र २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६