अन्तर्राष्ट्रिय

कतारका राजाले ल्याएको जहाजको मुल्य सुन्दै आश्चर्य लाग्दो




काठमाडौ ११ बैशाख ।। कतारका अमिर (राजा)शेख तमिम बिन हमाद अल थानी दुईदिने राजकीय भ्रमणको सिलसिलामा नेपाल आएका छन् ।मंगलबार दिउँसो उनी निजी जहाज ‘ए३४०–५००’ बाट काठमाडौं आएका हुन् । उनको यो जहाजको कलसाइन ‘आमिरी–६’ हो ।यो जहाज कस्तो खालको हो र यसका विशेषता के छन् भन्ने चासो स्वाभाविक मानिन्छ । कतारी अमिर थानीले चढ्ने यो जहाज युरोपेली जहाज निर्माता कम्पनी एयरबसले उत्पादन गरेको हो ।थानीले यो जहाज आफ्ना अधिकांश औपचारिक भ्रमणका बेला प्रयोग गर्ने गर्छन् । यो जहाजको मोडेल ‘ए३४०–५००’ सिरिजको हो । यस्तो जहाजलाई यात्रुवाहक बनाउँदा यसमा ३१३ सिट क्षमता हुने गर्छ ।
चार इन्जिन भएको यो जहाज लामो दुरीको उडानमा प्रयोग हुने गर्छ । यसले एकतर्फी ९ हजार नटिकल माइल उडान गर्न सक्छ । यो भनेको एकतर्फी १६ हजार ६६८ किलोमिटर उड्न सक्छ । यति दूरी भनेको बेलायतको लन्डनबाट पश्चिम अस्ट्रेलियाको पर्थसम्म ‘ननस्टप’ उडान गर्नु हो ।एयरबसले उत्पादन गर्ने यो जहाजको मूल्य अहिले २६ करोड १० लाख अमेरिकी डलर (साढे ३४ अर्ब रुपैयाँं) बराबर पर्छ ।यसमा ‘रोल्स रोयर ट्रेन्ट ५५३ टर्बोफ्यान’ सिरिजका चारथान इन्जिन जडित छ । यसको अधिकतम गति ८८० किलोमिटर प्रतिघण्टा रहेको छ ।यो जहाज ४१ हजार ४५० फिट उचाइसम्म उड्ने गर्छ । यसले प्रतिमिनेट ५ हजार ७०० फिटका दरले उचाइ लिंदै उड्न सक्छ –

एयरबसले यस्तो सिरिजको जहाज पहिलो पटक सन् २००२ फेब्रुअरी ११ मा सफल परीक्षण उडान गरेको थियो । त्यसपछि यसको सोही वर्ष डिसेम्बर ३ मा प्रमाणीकरण भएको थियो । यस्तो जहाज उडाउने पहिलो वायुसेवा कम्पनी क्यानडाको सरकारी वायुसेवा एयर क्यानडा हो ।कतारको सरकारी वायुसेवा कम्पनी कतार एयरवेजसँग हाल चारथान यस्ता जहाज सञ्चालनमा छन् ।
अमिरको जहाज त्रिभुवन विमानस्थलको २ नम्बर बेमा, के छन् सुविधा ?
कतारका अमिर थानीले ल्याएको निजी जहाज ए३४०–५०० हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित पार्किङ बे नम्बर २ मा राखिएको छ ।यो बे सामान्यतया अतिविशिष्ट व्यक्ति (भीभीआईपीं जहाज राख्न प्रयोग गरिन्छ । सामान्य अवस्थामा समेत यो पार्किङमा राखिने जहाजलाई अन्य बेको तुलनामा बढी पार्किङ शुल्क तिर्नुपर्छ ।कूटनीतिक नियोगका जहाजलाई भने शुल्क लिने गरिंदैन । विमानस्थल स्रोतका अनुसार पार्किङ बे नम्बर २ मा सुरक्षा निकायको पूर्ण निगरानी हुन्छ । अन्य बेको तुलनामा यो फराकिलो समेत छ । सोही कारण भीभीआईपी पाहुनाका जहाज यसै बेमा राख्ने गरिन्छ ।

प्रकाशित : ११ बैशाख २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६