प्रदेश

रुपन्देहीका आगलागीपीडितलाई राहत प्रदान



भैरहवा, १५ वैशाख । रुपन्देहीमा आगलागीबाट अहिलेसम्म डेढ सयभन्दा बढी घरगोठ जलेर नष्ट भएका छन् । आगलागीबाट स्थानीयका घरसँगै ६ करोड बढीको आर्थिक नोक्सानी भएको छ । दिउँसोमा चलिरहेको तीव्र गतिको हावाहुरीको बेवास्ता गर्दै स्थानीयले खेतमा गहुँका छोकडमा आगो लगाउँदा आगलागी बस्तीमा फैलिएको थियो ।

आगलागीबाट स्थानीयले पालेका चौपाय समेत मरेका छन् । तर स्थानीय प्रशासनबाट राहत वितरण सुरु भए पनि पर्याप्त नहुँदा पीडित झन पीडामा छन् ।

रोहिणी गाउँपालिका–६ की सुरसती हरिजन गत शुक्रबार दिउँसो घरमै बसिरहनुभएको थियो । घरछेउँकै खेतमा गहुँ काटेर छाडिएको छोकडामा आगो लागिरहेको थियो । एक्कासी तीव्र गतिमा हावा चल्यो । हावाहुरीले खेतमा लागिरहेको आगो बस्तीमा पस्यो, छिनभरमै उहाँको घर आगलगाीले ध्वस्त भयो । ६ जनाको उहाँको परिवार अहिले छिमेकीको सहरामा छन् । शुक्रबार प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गएको जिल्ला विपद् व्यवस्थापन समितिले १५ हजार रुपियाँ राहत दियो । त्यसबाहेक उहाँको परिवारले अन्य कुनै राहत पाएको छैन ।

एक साताअघि खेतमा लगाइएको आगो नियन्त्रण बाहिर जाँदा रोहणीस्थित पर्साका ७८ वर्षीया सुन्नर चमारको घर पनि पूर्ण क्षति भयो । आगलागीले घरमा रहेको अन्न, लत्ताकपडा, कागजपत्र र नगद सबै जल्यो । उहाँले पनि जिल्ला विपद् व्यवस्थापन समितिबाट १५ हजार रुपियाँबाहेक अन्य कुनै राहत पाउनुभएको छैन ।

पछिल्लो दुई साताको अवधिमा जिल्लामा आगलागीका घटना दैनिकजसो भइरहेका छन् । तर पीडितले प्रदेश र नजिककै स्थानीय सरकारबाटै राहत पाउन सकेका छैनन् । जसले गर्दा पीडितको विचल्ली भएको छ । रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालका अनुसार अहिलेसम्म रुपन्देहीमा आगलागीबाट १५८ घरमा क्षति पुगेको छ । ‘‘त्यसमध्ये ८७ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । यसबाट उक्त घरपरिवारका ५०४ जना घरबारबिहीन भएका छन्’’, उहाँले भन्नुभयो, ‘‘घर पूर्ण क्षति भएका परिवारलाई हामीले राहत वितरण सुरु गरिसकेका छौं ।’’

यस्तै, ७१ घरमा आंशिक क्षति पुगेको छ । आगलागीबाट घर, अन्नबाली, लत्ताकपडा, नगद र चौपाया गरेर ६ करोड ५० लाखभन्दा बढीको क्षति पुगेको प्रशासनको तथ्याङ्क छ । आगलागीबाट सबैभन्दा बढी क्षति रोहिणी गाउँपालिकामा पुगेको छ । यो पालिकामा मात्रै ५० बढी घर पूर्णक्षति भएका छन् । आगलागीबाट घरबारविहीन भएका परिवारलाई जिल्ला प्रशासनले शुक्रबारबाट राहत वितरण सुरु गरेको हो । प्रमुख जिल्ला अधिकारी गणेश अर्याल नेतृत्वको टोलीले शुक्रबार मात्रै रोहिणीका १७ घरपरिवारलाई १५ देखि २० हजारका दरले नगद राहत विवरण गरेको छ । ‘‘एकदुई दिनभित्रै सबै परिवारमा राहत रकम पु¥याउने हाम्रो लक्ष्य छ’’, प्रमुख जिल्ला अधिकारी अर्यालले भन्नुभयो, ‘‘यो बिचमा हामीले पालिका र अन्य सहयोगी दातासँग सहकार्य गरेर लत्ताकपडा र खाद्यान्न पनि सहयोग गर्ने गरी काम गरिरहेका छौं ।’’

प्रशासनका अनुसार अधिकाशं ठाउँमा स्थानीय बासिन्दाले ससानो कुरामा ध्यान नदिँदा आगलागीबाट ठूलो क्षति भएको छ । एक महिनाअघि नै प्रशासनले जिल्लाका १६ वटै पालिकाका प्रमुखलाई बोलाएर जिल्ला विपद व्यवस्थापन समितिको बैठक राखेर खेतबारीमा गहुँ काटेपछि आगो नलगाउन र त्यसबारे सचेतना फैलाउन अनुरोध गरेको थियो । तर पालिकाहरुले बेवास्ता गर्दा जिल्लाका अधिकांश ठाउँमा गहुँको छोकडमा आगो लगाउँदा हावाहुरीले बस्तीमा आगो फैलिएर क्षति भएको छ ।

प्रकाशित : १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६