प्रदेश

अन्तरव्यवस्थापिका भेला पाल्पाको तानसेन सुरु



तानसेन, १५ वैशाख । प्रतिनिधि सभा, राष्ट्रिय सभा तथा देशभरका सात वटै प्रदेश सभाका सभामुख तथा उपसभामुखको भेला तानसेनमा सुरु भएको छ । लुम्बिनी प्रदेश सभाको आयोजनामा शुक्रबारदेखि तानसेनमा अन्तरव्यवस्थापिका भेला सुरु भएको हो ।

भेलाका प्रमुख अतिथि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सङ्घीय संसद् र प्रदेश संसद्का बिच अनुभव आदानप्रदान गर्न भेला आयोजना गरिएको बताउनुभयो । उहाँले सङ्घीय संसद् र प्रदेश संसद्ले अभ्यास गरेका राम्रा पक्ष आदानप्रदान गर्न र संसद्लाई थप व्यवस्थित बनाउन भेलाले मार्गदर्शन गर्ने विश्वास गर्नुभयो ।

उहाँले अन्तरव्यवस्थापिका मञ्च गठन गरेर त्यसलाई स्थायी रूपमा अगाडि बढाउने तयारी भइरहेको बताउनुभयो । उहाँले मञ्चबाट सबै तहका व्यवस्थापिका संसद्को प्रभावकारिता बढाउन छलफल र भेलाबाट अगाडि बढ्न खोजिएको उल्लेख गर्नुभयो । उहाँले विगतमा भएका निर्णयको समीक्षा, नयाँ कार्यक्रम र मञ्चको आवश्यकता र औचित्यबारे समेत छलफल जरुरी रहेको औँल्याउनुभयो ।

सभामुख घिमिरेले संसद्ले सञ्चालन गरेको बजेटका विषयमा पनि आवश्यक छलफल गर्ने उल्लेख गर्नुभयो । उहाँले संसद्ले सञ्चालन गरेको बजेटका विषयमा अदालतको आफ्नै धारणा रहे पनि संसद्ले के गर्ने भन्ने विषयमा छलफल आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले संसद्को कार्यक्षेत्र र न्यायपालिकाको कार्यक्षेत्रका विषयमा पनि छलफल र बहस आवश्यक रहेको औँल्याउनुभयो ।

भेलामा संसदीय बजेट महाशाखासम्बन्धी अवधारणापत्र प्रस्तुत गरिएको छ । यस्तै उत्तरविधायिकी परीक्षण कार्यविधि सङ्घीय संसद् सचिवालयका सचिव सुदर्शन खड्काले प्रस्तुत गर्नुभयो । अन्तरव्यवस्थापिका मञ्च, नेपालको विद्यमान प्रस्तुति लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले प्रस्तुत गर्नुभयो । भेलामा सातै प्रदेशका सभामुख, उपसभामुख, प्रदेश सभाका सचिवहरूले समूहगत छलफल गर्नुका साथै आआफ्ना सुझाव राख्नुभयो ।

भेलामा सङ्घीय संसद् र प्रदेश संसद्मा भएका असल अभ्यासका विषयमा अनुभव आदानप्रदान गरिएको छ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरले भेलापछि आवश्यक निर्णय सार्वजनिक गर्ने जानकारी दिनुभयो ।

प्रकाशित : १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६