प्रदेश

बाँकेमा ९ महिनामा १२ जना सुत्केरीको मृत्यु



बाँके, २३ वैशाख । पश्चिम नेपालकै सबैभन्दा सुविधासम्पन्न अस्पताल रहेको बाँके जिल्लामा चालु आर्थिक वर्षको नौ महिनामा १२ जना सुत्केरीको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार मृत्यु भएका १२ जनामा ६ जना नेपालगन्ज उपमहानगरपालिकाका छन् भने ६ जना विभिन्न गाउँपालिकाका छन् ।

जिल्लाको खजुरा र डुडुवा गाउँपालिकामा २–२ जना, राप्ती सोनारी र नरैनापुरमा १–१ जना सुत्केरीको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । नेपालगन्जलाई मेडिकल सिटी भनिए पनि यहीँ सुत्केरीको मृत्यु धेरै भएको देखिन्छ ।

स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन विष्णु श्रेष्ठका अनुसार घर नजिकै ठूलाठूला अस्पताल र सुविधा सम्पन्न स्वास्थ्य संस्था भए पनि अन्तिम अवस्थामा स्वास्थ्य संस्थामा ल्याउने र सुत्केरी भइसकेपछि हुनुपर्ने स्याहार नभएर सुत्केरीको मृत्यु भइरहेको छ । उहाँले पहिला सुत्केरी हुनुअघि मृत्यु हुने गरेको थियो अहिले भने सुत्केरी भइसकेपछि मृत्यु भइरहेको पाइएको बताउनुभयो ।

‘बच्चा पाएको ४२ दिन सम्मलाई सुत्केरी मानिन्छ । बच्चा पाएपछि जाँच नगर्ने प्रवृत्तिले आमाको मृत्यु भइरहेको छ’, फोकल पर्सन श्रेष्ठले भन्नुभयो । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अधिकांश गर्भवतीले आठ पटक गर्भजाँच पनि गराउने नगरेको देखिएको छ । पहिलो पटक ७० प्रतिशत गर्भवतीले जाँच गर्दा आठौंमा आइपुग्दा २१ प्रतिशतमा झर्ने गरेको सो कार्यालयले जनाएको छ । सो बारेमा अझै धेरै जनचेतना फैलाउनुपर्ने आवश्यकता बाँकेका स्वास्थ्यकर्मीहरुले औंल्याएका छन् ।

प्रकाशित : २३ बैशाख २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६