प्रदेश

राजीनामा दिएका लुम्बिनीका कृषिमन्त्रीद्वारा पुनः पदभार ग्रहण



कपिलवस्तु, २४ वैशाख ।

लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको जनता समाजवादी पार्टी पुनः सरकारमा सहभागी भएको छ। वैशाख ८ गते राजीनामा दिएर घरमै बसेका जसपा संसदीय दलका नेता भण्डारीलाल अहिरले लुम्बिनी प्रदेश सरकारको मन्त्रीको रूपमा आज कार्यभार सम्हालेका हुन्।

पार्टी विभाजनपछि अशोक राईको नेतृत्वमा बन्ने पार्टीमा सहभागी हुने गरी अहिर लुम्बिनी सरकारमा सहभागी भएका छन्। सहमति कार्यान्वयन नभएको भन्दै वैशाख ८ गते अहिरले मन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका थिए। तर, उनको राजीनामा मुख्यमन्त्री जोखबहादुर महाराले स्वीकृत गरेका थिएनन् ।

अहिरले सोमबार कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा पदभार ग्रहण गर्दै जिम्मेवारी लिएका मन्त्रीका स्वकीय सचिव राजेन्द्र विश्वकर्माले जानकारी दिए । लुम्बिनी प्रदेशमा नयाँ समीकरणको आधारमा सरकार बनाउँदा जसपालाई दुई वटा मन्त्रालय दिने लिखित सहमति भएको थियो। तर, सो सहमति कार्यान्वयन नभएको भन्दै पार्टीको निर्देशनमा अहिरले वैशाख ८ गते राजीनामा दिएका थिए।

मुख्यमन्त्रीले असन्तुष्टि सम्बोधन गर्दै जाने वचन दिएपछि पदभार सम्हाल्न तयार भएको उनले बताए । ‘मुख्यमन्त्रीसँग शनिबार कुराकानी भएको थियो’, अहिरले भने, ‘उहाँले अहिले पदभार ग्रहण गर्नुस्, असन्तुष्टि सम्बोधन गर्दै जाउँला भनेपछि सहमत भएको हुँ ।’

लुम्बिनीमा तीन जना प्रदेशसभा सदस्य रहेको जसपाले २ वटा मन्त्रालयको दाबी गर्दै आएको थियो । जसपा लुम्बिनी प्रदेशका अध्यक्ष अशोक यादवले पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादव अमेरिकाबाट फर्किएपछि अन्य सांसदहरूका बारेमा निर्णय गर्ने बताए । केन्द्रीय राजनीतिमा सो पार्टीभित्र विभाजन देखिएपछि लुम्बिनी प्रदेशमा समेत त्यसको प्रभाव देखिएको हो।

प्रकाशित : २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६