प्रदेश

तुलसीपुरको शिवशिखर सहकारीमा छापा



दाङ, २४ वैशाख ।

दाङको तुलसीपुरस्थित शिवशिखर कृषि सहकारी संस्था लिमिटेडमा सरकारी टोलीले छापा मारेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको टोलीले आइतबार साँझ शिवशिखर कृषि सहकारी संस्थामा छापा मारेर आवश्यक कागजातहरू जफत गरेको हो।

समितिका सदस्य सचिव केशवप्रसाद पौडेल नेतृत्वको टोलीमा अपराध अनुसन्धान महाशाखाका प्रतिनिधि सहभागी थिए। उक्त टोलीले स्थानीय जनप्रतिनिधि, स्थानीय प्रहरी, घरधनी लगायतलाई पनि बोलाएका थिए।

टोलीले ऋणीको संख्या, प्रवाह भएको ऋण, बचतकर्ताले पाउनु पर्ने भुक्तानीबारे बुझ्न आवश्यक कागजात बरामद गरेको सदस्य सचिव पौडेलले बताए।

यसरी बरामद गरिएका कागजातको अध्ययनपछि तुलसीपुर शाखाबाट प्रवाह भएको ऋण, ऋणीको संख्या, बचतकर्तालाई तिर्नुपर्ने रकम पत्ता लगाउन सजिलो हुने उनले बताए।

‘अध्ययनपछि मात्रै ऋणीहरूको सम्पत्ति रोक्ने, बैंक खाता रोक्ने, राहदानी रोक्का गर्ने र ऋणीबाट पैसा उठाएर पीडितलाई फिर्ता दिन सकिने अवस्थाबारे बुझ्न सकिन्छ,’ उनले भने।

टोलीका एक सदस्यका अनुसार प्रारम्भिक अनुसन्धानबाट शिवशिखर सहकारीमा १३४ जना ऋणी देखिएका छन्। जसबाट २ करोड १९ लाख बराबरको रकम हिनामिना भएको देखिन्छ।

यस शाखामा बचतकर्ताले १५ करोडभन्दा बढी रकम जम्मा गरेको देखिएको छ। सञ्चालकहरूले बचतकर्तालाई विभिन्न प्रलोभन देखाएर सहकारीमा रकम जम्मा गर्न लगाएको सदस्य सचिव पौडेलले जानकारी दिए।

सहकारीको सिद्धान्‍त र उद्देश्य भन्दा बाहिर गएर कम्पनी खडा गर्ने, गार्डेन मार्ट सञ्चालन गर्ने तथा बचतकर्ताको पैसा विभिन्न निकाय खडा गरी कारोबार गर्ने, जग्गा जमिन खरिद गर्ने जस्ता अस्वाभाविक कारोबार गरेको उनले बताए।

‘आवश्यक कागजात संकलन गरी सहकारीको सम्पत्ति यकिन गर्नुपर्ने भएको हुँदा त्यही सिलसिलामा हामी तुलसीपुरको यो मार्टमा आएका हौं,’ उनले भने, ‘हामीले फेला पारेका सबै काजतजात र सबुत प्रमाण लगेर अनुसन्धान गर्नेछौं।’

तुलसीपुरमा शिवशिखर सहकारीले मार्ट चलाउँदै आएको थियो। जो सहकारीको नीति विपरीत थियो।

तुलसीपुरको शाखासहित देशका सबै शाखाहरूबाट सञ्चालकले तिर्न बाँकी ऋण–दायित्व यकिन गरी सहकारी सञ्चालकलाई कारबाही गरिने तथा उनीहरूबाट रकम असुल गरी पीडितहरूलाई वितरण गरिने पौडेलले बताए।

सरकारले शिवशिखर बहुउद्देश्य सहकारी संस्थालाई गत भदौ २५ गते समस्याग्रस्त सहकारीका रूपमा घोषणा गरेको थियो।

त्यो घोषणापछि सहकारीको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीका लागि समितिमा पत्राचार भएको थियो। त्यसपछि देशव्यापी रूपमा शिवशिखर सहकारीका शाखाको खोजी सुरू भएको हो।

यस सहकारीका ४३ वटा शाखा छन्।

‘केही दिन पहिले मात्रै अध्ययन गर्दा देशका विभिन्न ठाउँमा ४३ सहकारीका शाखाहरू रहेको भेटियो। सहकारीमा ३२ हजार बचतकर्ताले ११ अर्ब रुपैयाँ माग गरेको अवस्था छ,’ उनले भने। सहकारीका केन्द्रीय अध्यक्ष सुशिल बानियाँ भने फरार सूचीमा छन्।

प्रकाशित : २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६