प्रदेश

बाँकेको पाँच हजार हेक्टर वनमा डढेलो



नेपालगञ्ज, २५ वैशाख । बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार १३३ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ।जिल्ला वन कार्यालय, बाँकेका अनुसार नेपालगञ्ज सब डिभिजन कार्यालयअन्तर्गतका १०, नरैनापुर सव डिभिजनअन्तर्गतका नौ, सिक्टा सव डिभिजनका १८, राप्तीसोनारी सब डिभिजजनका चार, कोहलपुर सब डिभिजनका २२ र शम्शेरगञ्ज सब डिभिजनको एउटा चक्ला वनसहित गरी ७६ सामुदायिक वनमा डढेलो लागेको छ। बाँकेमा एक सयको हाराहारीमा सामुदायिक वन छन्।

जिल्ला वन कार्यालयका सहायक वन अधिकृत तथा सूचना अधिकारी वीरेन्द्र रोकाले अधिकांश स्थानमा डढेलो नियन्त्रणमा आएको जानकारी दिए। उनका अनुसार डढेलो लागेको वनमा सात सय लिटर ट्याङ्की भएको अग्नि नियन्त्रक गाडीमार्फत आगो निभाइएको हो। डढेलो नियन्त्रण गर्न आठ अग्नि हेरालुसमेत परिचालन गरिएको उनले जानकारी दिए।

डढेलो नियन्त्रण गर्न चक्ला वनमा ३० किलोमिटर र विभिन्न सामुदायिक वनमा २० किलोमिटर अग्निरेखा निर्माण गरिएको छ। लामो समयको सुक्खा खडेरी, जङ्गलमा मौवा टिप्न जाने बहानामा र चरिचरण गर्न जानेहरूको लापरवाहीका कारण डढेलो लागेको अनुमान गरिएको छ।

राप्तीसोनारी १ को सतिभवानी र गाइलेख सामुदायिक वनमा सबैभन्दा बढी २५० देखि २८० हेक्टर क्षेत्रफलमा डढेलो लागेको थियो भने सबैभन्दा कम कोहलपुरको बागेश्वरी सामुदायिक वनमा १।२० हेक्टर क्षेत्रफलमा डढेलो लागेको सहायक वन अधिकृत रोकाले बताए।

डढेलोका कारण खरायो, सर्प, विभिन्न प्रजातिका चरालगायत मरेका छन्। शम्शेरगञ्जको चक्ला वन तथा कोहलपुरको रानी सामुदायिक वन क्षेत्रमा लागेको आगो १२ घण्टाभन्दा बढी समय लगाएर निभाइएको थियो। आवश्यक परेको स्थानमा कोहलपुर, नेपालगञ्ज तथा नरैनापुरको वारुणयन्त्रको समेत सहयोग लिइएको थियो। शम्शेरगञ्ज क्षेत्रमा डिभिजन वन कार्यालयको अग्नि नियन्त्रक सवारी साधन २४ घण्टा तैनाथ राखिएको छ।

शम्शेरगञ्ज सव डिभिजन कार्यालयका वन अधिकृत सुशील सुवेदीले फाट्टफुट्ट घटनाबाहेक बाँकेमा डढेलो नियन्त्रणमा आएको उल्लेख गर्नुभयो।

१० महिमनामा १०५ आगलागीका घटना

बाँकेका विभिन्न स्थानीय तहमा आगलागीका एक सय पाँच घटना भएका छन्। विसं २०८० साउनदेखि यो वर्षको वैशाखसम्म भएका उक्त घटनामा एक जनाको मृत्यु भएको भने ६ जना घाइते भएका जिल्ला प्रशासन कार्यालय, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी जोरासिंह माझीले जानकारी दिए।

प्रकाशित : २५ बैशाख २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६