देश

आजदेखि संसदको बजेट अधिवेशन



काठमाडौं, २८ वैशाख। संघीय संसदको बजेट अधिवेशनको पहिलो बैठक आज बस्दै छ । संघीय संसद भवन नयाँबानेश्वरमा दिउँसो २ बजे बस्ने बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र र प्रधानमन्त्री कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी व्यहोराको पत्र सभामुख देवराज घिमिरेले पढेर सुनाउने कार्यसूची छ ।

यसैगरी सभामुखले बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयनको जानकारी पनि गराउने छन् ।त्यसपछि अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा सांसदहरुले बैठकलाई सम्बोधन गर्ने छन् । बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सुरक्षण मुद्रण विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश पनि हुने छ । यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची समेत छ ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार यही बर्खे अधिवेशनमा आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनका साथै आर्थिक, विनियोजन र राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत हुने छ । विगतमा बजेट अधिवेशनमा ‘प्रि–बजेट’ छलफल हुने गरेकामा यस वर्ष बजेटका प्राथमिकता र सिद्धान्तमा हिउँदे अधिवेशनमै छलफल पूरा भइसकेको छ ।

सरकारले प्रत्येक वर्ष जेठ १५ गते वार्षिक आय–व्ययको अनुमानित विवरण प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सो व्यवस्थाअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको बैठक आजका लागि आह्वान गरेका थिए ।

प्रकाशित : २८ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६