प्रदेश

जनता आवास कार्यक्रम मार्फत बनेका घर प्रयोग विहीन



सन्धिखर्क, ११ जेठ । भूमिहीन, सुकुमवासी तथा प्रकोपबाट पीडित भई घरबारविहीन परिवारका लागि निर्माण भएका घरमा बस्न स्थानीयले रुचि नदेखाएपछि करोडौँका घर प्रयोग विहीन भएका छन् ।

अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले जनता आवास कार्यक्रम अन्तर्गत निर्माण गरेका १० वटा घरमध्ये छ घर एक वर्षदेखि खाली छन् । स्थानीय सरकारसँगको समपूरक बजेटको ५० र पालिकाको ५० प्रतिशत बजेटमार्फत चार करोड रुपियाँ लगानीमा ती घर निर्माण भएका हुन् ।

प्लास्टर गरिएका सुविधासम्पन्न घरमा पानी, बत्ती र शौचालयको व्यवस्था छ । सबै घरमा सोलार जडान गरिएको छ । हरियाली वातावरण र खुला ठाउँमा घर निर्माण भएका छन् । साना चिटिक्क र रङरोगन गरिएका घर हेर्दा निकै आकर्षक छन् । छत्रदेव गाउँपालिका–६, चौवाहामा ४२ रोपनीमा घर निर्माण भएका छन् । घरसहित दुई रोपनी जग्गा उपलब्ध गराउने व्यवस्था भए पनि उक्त व्यवस्था कार्यान्वयन हुन सकेको छैन ।

सुकुमवासी भए पनि आफ्नै घरमा बस्न रुचाउने भएकाले स्थानीयले खासै रुचि नदेखाएको वडा नम्बर ६ का वडाध्यक्ष कमलप्रसाद पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “मान्छेहरू आफू बसेको घर झट्ट छोड्न नमान्दा रहेछन् । सुकुमवासी भए पनि घर छोड्न गाह्रो हुँदो रहेछ । मापदण्डमा परेका परिवार निःशुल्क बस्न पाउँछन् । नेपाल सरकारको भूमिहीन सुकुमवासी र आवासविहीनलाई जग्गा र बास उपलब्ध गराउने संवैधानिक व्यवस्था अनुसार घर र जग्गा उपलब्ध गराइन्छ ।”

दुई वटा कोठा र एउटा भान्साकोठासहितको घरमा छ सदस्यसम्मको परिवार बस्न मिल्छ । छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठले भन्नुभयो, “मापदण्ड नपुगेका कारणले पनि घर बस्न आउनु भएको छैन । मापदण्ड पूरा हुन नसकेकालाई बसाल्ने कुरा भएन । उहाँले प्राकृतिक प्रकोपबाट पीडित भई घरबारविहीन भएकालाई पनि समेट्ने प्रयास गरेको र यो कार्यक्रम प्रभावकारी हुन्छ भन्ने विश्वास गरेको बताउनुभयो ।

प्रकाशित : ११ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६