प्रदेश

घाइते गिद्धका बचेराको उद्धार



कपिलवस्तु, १३ जेठ । प्रकृतिका कुचीकार मानिएका विश्व दुर्लभ गिद्धका बचेरा उडान भर्न सिक्दा घाइते अवस्थामा फेला परेका छन् । लुम्बिनी प्रदेशको दाङ र कपिलवस्तुमा डंगर गिद्धका बचेरा घाइते अवस्थामा फेला परेका हुन् ।

आइतबार कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेबाट डङ्गर गिद्धको बचेराको उद्धार गरिएको छ । सोसियल बोर्डिङ स्कुलको नालामा खसेको अवस्थामा गिद्ध फेला परेको थियो । विद्यालयका शिक्षक जोसेफ लेप्चाले संरक्षणकर्मीलाई सूचना दिएपछि डिभिजन वन कार्यालय कपिलवस्तुको टोलीले उद्धार गरेको छ ।

शनिबार दाङको कप्तानगन्जबाट डंगर गिद्धको बचेरा घाइते अवस्थामा उद्धार गरिएको छ । यो बेलामा गिद्धको वासस्थान र आसपासका क्षेत्रमा निगरानी र अनुगमन गर्न संरक्षणकर्मीले आम सर्वसाधारणलाई अनुरोध गरेका छन् । उद्धार गरिएका दुवै गिद्ध उड्न सिक्नेक्रममा खसेको हुन सक्ने संरक्षणकर्मी चिरञ्जीवी खनालले बताउनुभयो ।

विश्वमा दुर्लभ डंगर गिद्धका बचेरा यति बेला गुँड छाडेर उडान भर्ने तरखरमा छन् । कात्तिक–मङ्सिरदेखि गुँड बनाउन सुरु गर्ने डंगर गिद्धले करिब दुई महिनासम्म ओथारो बस्छ । पुस–माघमा बच्चा कोरल्ने गिद्ध विज्ञ कृष्ण भुसालले बताउनुभयो ।

बच्चा करिब तीन महिनामा गुँड छाडेर उड्न सक्छन् । अहिले गुँड छाडेर उड्न सिक्दै गरेका बचेरा राम्रोसँग उडान भर्न नसकी रुखमा ठोक्किने वा आहार जुटाउन नसकी घाइते तथा कमजोर भएर भुईँमा झरेको अवस्थामा भेटिन्छन् ।

डंगर प्रजातिको गिद्धलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन) ले अत्यन्त लोपोन्मुख वर्गमा सूचिकृत गरेको छ । नेपालभरि यो प्रजातिको सङ्ख्या दुई हजारभन्दा कम रहेको अनुमान गरिएको नेपाल पन्छी संरक्षण सङ्घका अधिकृत दिलीप चन्द ठकुरीले बताउनुभयो ।

प्रकाशित : १३ जेष्ठ २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६