प्रदेश

सन्धिखर्क–तम्घास १३२ केभी प्रसारण लाइन र तम्घास सबस्टेशनको काम सकियो



काठमाण्डौ, ०६ असार । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ फुदवाङबाट गुल्मीको रेसुङ्गा नगरपालिका–७, उनायचौर तम्घाससम्मको १३२ किलोभोल्ट डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । प्रसारण लाइनअन्तर्गत उनायचौरमा १३२ केभी तम्घास सबस्टेशन पनि निर्माण सम्पन्न भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले सन्धिखर्क–तम्घास १६ किलोमिटर १३२ केभी डबल सर्किट प्रसारण लाइन र १३२ केभी तम्घास सबस्टेशन निर्माण सम्पन्न गरी हिजोदेखि सञ्चालनमा ल्याएको हो । प्रसारण लाइनबाट झन्डै २०० मेगावाट विद्युत् प्रवाह हुनसक्छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइन र सबस्टेशन सञ्चालनमा आएपछि मुख्य रूपमा गुल्मी जिल्लाको बिजुली आपूर्ति भरपर्दो र गुणस्तरीय हुनुका साथै प्राविधिक चुहावट पनि कम हुने बताउनुभयो ।

यस्तै अघाँखाँची–तम्घास प्रसारणलाइनबाट विद्युत् प्रवाह हुने गरी ४० मेगावाटका सौर्य आयोजनाका लागि टेन्डर गरिएको छ । बुटवलबाट ३३ केभी प्रसारण लाइनमार्फत पाल्पा, अर्घाखाँची र गुल्मीमा बिजुली आपूर्ति हुँदै आएको थियो । ३३ केभी प्रसारण लाइन धेरै लामो हुँदा लाइन ‘ट्रिप’ भएर झ्याप्प झ्याप्प बत्ती जाने र भोल्टेजको समस्या थियो । अब तम्घास सबस्टेशनबाट बिजुली आपूर्ति दिँदा लाइन छोटो हुने हुँदा त्यस क्षेत्रको बिजुली आपूर्ति भरपर्दो र गुणस्तरीय हुनेछ ।

बुर्तिवाङ–पौदी–अमराई–तम्घास–सन्धिखर्क–गोरुसिङ्गे १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत सन्धिखर्क–तम्घास प्रसारण लाइन र तम्घास सबस्टेशन निर्माण गरिएको हो । प्रसारण लाइन र पौदी अमराई तथा बुर्तिबाङ सबस्टेशन निर्माणाधीन छन् । रुख कटानको समस्याका कारण प्रसारण लाइन निर्माण प्रभावित भइरहेको आयोजनाका प्रमुख मनोज चौधरीले बताउनुभयो ।

बुर्तिवाङ–पौदी–अमराई–तम्घास–सन्धिखर्क–गोरुसिङ्गे १३२ केभी प्रसारण लाइन आयोजनाको अनुमानित लागत ३ करोड ९५ लाख अमेरिकी डलर छ ।

प्रकाशित : ७ असार २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६