प्रदेश

कुवेत लैजाने भन्दै भारत पुर्‍याइएका ६ महिलाको उद्धार



भैरहवा, २२ असार । रुपन्देही प्रशासनले भारतबाट उद्धार गरिएका ६ जना महिलालाई आफन्तको जिम्मा लगाएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा आफन्तलाई बोलाएर उद्धार गरिएका महिलाहरुलाई जिम्मा लगाइएको हो ।

प्रमुख जिल्ला अधिकारी गाणेश अर्याल, सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्याल, रुपन्देही प्रहरी प्रमुख एसपी रञ्जितसिंह राठौर, सशस्त्र प्रहरी बल नम्बर २७ गण, रुपन्देही प्रमुख एसपी आनन्द थापालगायतको उपस्थितिमा उद्धार गरिएका महिलालाई शुक्रबार आफन्तको जिल्ला लगाइएको हो ।

भारतबाट उद्धार गरिएका महिलाहरुमा २२ देखि ३७ वर्ष उमेर समूहका ६ जना छन् । उनीहरुलाई असार १८ गते नेपाल–भारत सीमा क्षेत्रस्थित भारतको सिद्धार्थनगर झिगरीग्राम पञ्चायतबाट उद्धार गरिएको थियो । दलालले कुवेत पठाउँछु भनेर ती महिलाहरुलाई लामो समय काठमाडौंमा राखेर त्यसपछि रुपन्देही ल्याएर यहाँबाट भारत पु¥याएका थिए । भारतीय सीमा सुरक्षा बलले महिलाहरुलाई सोधखोज गर्ने क्रममा शंका लागेपछि सशस्त्र प्रहरीलाई उनीहरुको अवस्थाबारे जानकारी गराएका थिए ।

त्यसपछि सशस्त्र प्रहरीको समन्वयमा ६ जना महिलाहरुलाई उद्धार गरी नेपाल ल्याइएको थियो । चार दिनसम्म माइती नेपालको आश्रयमा राखेपछि परिवारका सदस्य बोलाएर जिम्मा लगाइएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो । उहाँले दलालहरुले अनेक बहाना बनाएर महिलाहरुलाई भारत लगायत तेस्रो मुलुक पुर्‍याएर बेचबिखन गर्ने, यौनजन्य क्रियाकलापमा लगाउने जस्ता काम गर्दै आएको बताउँदै प्रलोभनमा नपर्न र अवैध बाटोबाट कतै पनि नजान आग्रह गर्नुभयो ।

भारतीय सुरक्षा बल र नेपाली सुरक्षाकर्मीको सावधानीले महिलाहरुको उद्धार सम्भव भएको भन्दै अबका दिन वैदेशिक रोजगारीबारे विस्तृत बुझेर मात्रै घरबाट हिँड्न अनुरोध गर्नुभयो ।

दलालको प्रलोभनमा परेर कुवेत जानका लागि भनेर घरबाट हिँडेका उनीहरुलाई हप्तौंसम्म काठमाडौँमा राखेर त्यहाँबाट रुपन्देही ल्याएर दलालले भित्रि नाका हुँदै भारत पुर्‍याएका थिए । त्यसक्रममा महिलाहरु बेचिन सक्ने जोखिम देखेपछि उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ । चेलिबेटी बेचबिखनबारे सीमामा निगरानी बढाएर काम गरिरहेको सशस्त्र प्रहरी रुपन्देही प्रमुख थापाले बताउनुभयो । यही क्रममा महिलाहरुको उद्धार गरिएको उहाँले बताउनुभयो ।

माइती नेपाल आवधिक गृह, भैरहवा प्रमुख माया क्षेत्रीले वैदेशिक रोजगारीका नाममा केही समय अगाडि काठमाडौँ गोङ्गबुस्थित एक घरमा राखेर भारतको बाटो हुँदै महिलाहरुलाई लैजान लागेको बुझिन आएको बताउनुभयो ।

रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले महिलाहरुले आफूहरुलाई यहाँसम्म ल्याउने दलालबारे जानकारी गराएकाले तत्काल नाम गोप्य राखेर अनुसन्धान गरिरहेको जानकारी दिनुभयो ।

‘‘प्रहरीले सुक्ष्म अनुसन्धान सुरु गरेको छ । वैदेशिक रोजगारीको नाममा महिलाहरुलाई अवैध बाटोबाट भारत पुर्‍याउने व्यक्ति तथा म्यानपावर जोसुकै भए पनि कारबाही हुन्छ’’, उहाँले भन्नुभयो ।

सशस्त्रले भारतीय सुरक्षा बलको सहयोगमा रुपन्देहीको देवदह नगरपालिका–४ की ३२ वर्षीया महिला, दाङको घोराही उपमहानगरपालिका–३ की ३१ वर्षीया र दाङकै राप्ती गाउँपालिका–४ की ३७ वर्षीष महिलालाई उद्धार गरेको थियो ।

यस्तै, चितवनको खैरहनी नगरपालिका–४ की ३१ वर्षीया महिला, सिन्धुलीको दुधौली नगरपालिका–१२ की २४ वर्षीया र सल्यान कपुरकोट गाउँपालिका–५ घर भएकी २२ वर्षीया महिलालाई उद्धार गरी आफन्तको जिम्मा लगाइएको हो । उद्धार गरिएका महिलाहरुले आफूहरुलाई विभिन्न प्रलोभन देखाएर दलाले फसाएको बताएका छन् । अब, आफूहरु सचेत भएको र यस्ता प्रलोभनमा कोही पनि फस्न नहुने उनीहरुको भनाइ छ । महिलाहरुको आग्रहमा व्यक्तिगत गोपनियताका लागि उनीहरुको नाम भने गोप्य राखिएको छ ।

प्रकाशित : २३ असार २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६