प्रदेश

लुम्बिनीमा भारतीय पर्यटकको चाप



बुटवल, ३० असार । गौतमबद्धको जन्मस्थल लुम्बिनीमा पछिल्लो ६ महिनाको अवधिमा २ लाखभन्दा बढी बाह्य पर्यटकको आगमन भएको छ ।

सन् २०२४ को जनावरीदेखि जुन महिनासम्मको अवधिमा आन्तरिक बाहेक भारतीय र तेस्रो मुलुकका गरी २ लाख ४हजार ६९४ जना पर्यटकले भ्रमण गरेको लुम्बिनी विकास कोषले जनाएको छ । सबैभन्दा बढी भारतबाट १ लाख ५२ हजार ५२० जना लुम्बिनी घुम्न आएको लुम्बिनी विकास कोषका सूचना अधिकारी डाक्टर हरिध्वज राईले बताए । गत वर्ष यही अवधिको तुलनामा पर्यटक आवागमन ८ प्रतिशतले वृद्धि भएको उनले बताए ।

सन् २०२३ को यही अवधिसम्म १ लाख ३३ हजार १७९ भारतीय आएका थिए। भारतीय पर्यटक वृद्धि हुनुमा विभिन्न ४ कारण रहेको कोषले ठहर गरेको छ।

कोषका अनुसार गत वर्ष कथा बाचक मुरारी बाबुको लुम्बिनीमा राम कथा वाचनका साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगमनले भारतीय पर्यटकको वृद्धि भएको ठानिएको छ ।

यस्तै पछिल्लो समय भारतको अर्थतन्त्रमा सुधार र गर्मीको कारणले पनि भारतीयहरू लुम्बिनीमा धेरै आएका हुन्।

६ महिनामा लुम्बिनीमा कुन देशबाट कति ?

६ महिनामा भारत बाहेक अन्य तेस्रो मुलुकहरूबाट कुल ५२ हजार १७४ पर्यटक लुम्बिनी आएका छन्। अघिल्लो वर्ष सोही अवधिको तुलनामा यो वर्ष १२ हजार बढी विदेशी पर्यटक आएका हुन्। सन् २०२३ को जुन महिनासम्म लुम्बिनीमा ३३ हजार ६०५ जना विदेशी पर्यटक लुम्बिनी आएका थिए। पछिल्लो ६ महिनामा लुम्बिनी आएका तेस्रो मुलुकका पर्यटकमध्ये सबैभन्दा बढी थाइल्यान्डबाट १२ हजार २४४ जना पर्यटक आएका छन् । यस्तै श्रीलङ्काबाट ९ हजार २६५, म्यानमारबाट ७ हजार २९५ र चीनबाट ६ हजार ७३४ जना पर्यटक लुम्बिनी आएका छन्।

यस्तै भियतनामबाट ३ हजार ८११, दक्षिण कोरियाबाट २ हजार ७२२ र जर्मनीबाट १ हजार ११९ जना पर्यटक लुम्बिनी आएका छन्। अन्य मुलुकको आगमन दर हजार भन्दा कम छ।

तर लुम्बिनीमा आन्तरिक पर्यटकको आगमन कोभिडअघि भन्दा निकै कम देखिएको छ। सन् २०१९ को जुनसम्म ७ लाख ३३ हजार जना नेपाल भित्रबाटै लुम्बिनी घुम्न आएका थिए। यो वर्षको ६ महिनामा जम्मा ३ लाख ४४ हजार ५२९ आन्तरिक पर्यटक लुम्बिनी आएका छन्। अघिल्लो वर्षको यही अवधि भन्दा अहिले ११ हजारले कम हो। सन २०२३ को जुनसम्म ३ लाख ५५ हजार ८५० नेपाल भित्रबाटै लुम्बिनी घुम्न आएका थिए।

लुम्बिनीमा आएको पर्यटकहरू धेरै भारतीय वृद्धि भए पनि होटेल व्यावसायीहरु खासै उत्साहित नभएको होटेल व्यवसायी सङ्घ लुम्बिनीमा अध्यक्ष गोविन्द ज्ञवालीले बताए ।अहिले आएका भारतीय पर्यटकहरू यहाँ निकै कम मात्रामा होटेलमा बस्ने गर्दछ । उनीहरूमध्ये धेरैजसो बिहान आउने साँझ फर्कने गरेको ज्ञवालीको भनाइ छ ।

प्रकाशित : ३१ असार २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६