प्रदेश

सहारा दिने श्रीमती नै थला परेपछि न्यून दृष्टियुक्त वली समस्यामा



तुलसीपुर, १९ साउन । सल्यान श्रीनगर घर भई हाल दाङ तुलसीपुर उपमहानगरपालिका–१६ भलै निवासी लालबहादुर वलीको जनयुद्धमा दुईवटै आँखा गुमे । विसं २०६० तिर प्रहरीले करेन्ट लगाउँदा उनले आँखा गुमाउनुपरेको थियो ।

वलीले साहाराका लागि २०६२ सालमा सल्यान छत्रेश्वरी गाउँपालिका–१ दमाचौरकी शान्तासँग बिहे गरे । शान्ता पनि वलीसँग बिहे गर्न तयार भइन् । दुःखसुख गरेर दिनचर्या चलेकै थियो तर एक महिनाअघिदेखि श्रीमती शान्ता पनि थलिएकी छन् । सहारा दिने श्रीमती नै थला परेपछि वली परिवार अचेल निकै समस्यामा छ ।

पेटको क्यान्सरका कारण थला परेकी शान्ताको हाल सुशील कोइराला मेमोरियल अस्पताल खजुरामा उपचार भइरहेको छ तर आर्थिक अभाव हुँदा उपचारमा नै समस्या भएको लालबहादुरले बताए । श्रीमती नै बिरामी परेपछि घरमा १७ वर्षीय छोरा र आफू साहाराविहीन भएको उनको दुःखेसो छ ।

वली परिवारको अवस्था नजिकबाट बुझेकी स्थानीय बालिका बुढाथोकीले आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको जानकारी दिइन् । “लालबहादुरका दुवै आँखा गुमेपछि सहाराका लागि बिहे गर्नुभएको थियो, अहिले श्रीमती नै बिरामी पर्दा उहाँहरू बेसहारा हुनुभएको छ”, बुढाथोकीले भनिन् ।

उनकानुसार अहिलेसम्म उपचारमा करिब रु १२ लाख खर्च भइसकेको छ, अझै रु १८ लाख खर्च हुने चिकित्सकले अनुमान गरेका छन् । सोहीअनुसार रकम जम्मा गर्न भने पनि वली परिवारसँग कुनै विकल्प छैन । “एक महिनाअघि श्रीमतीमा क्यान्सर भएको पत्ता लाग्यो, श्रीमानको २०६० सालमै आँखा गुमिसकेका छन् । आम्दानीको कुनै स्रोत नभएपछि उनीहरू समस्यामा रहेका छन् । हामीले उनको उपचारमा सहयोगका लागि सबैलाई अनुरोध गरिरहेका छौँ”, उनले सुनाइन् ।

आफूले काम गर्न नसक्ने र आर्थिक आम्दानीको कुनै स्रोत नभएकाले उपचारमा निकै असहज भएको श्रीमान लालबहादुरले बताए । “पहिले मलाई स्याहार गरिन्, दुःखमा साथ दिइन् । परिवारको सहारा श्रीमती नै थला परेपछि अहिले हातमुख जोर्न पनि समस्या छ । भएको जायजेथा बेचेर, ऋण काँडेर भए पनि अहिलेसम्म रु १२ लाखजति खर्च भइसक्यो तर सञ्चो भएको छैन । आर्थिक अवस्थाले थप उपचार गर्नसक्ने अवस्था छैन”, उनले दुःखेसो पोखे । रासस

प्रकाशित : १९ श्रावण २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६