प्रदेश

सुप्रिम सहकारीका बचतकर्ताद्वारा मन्त्रालय घेराउ



बुटवल, २८ साउन । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरू फेरि आन्दोलनमा उत्रिएका छन् । बचत फिर्ता र दोषीमाथि कारबाहीको माग गर्दै उनीहरू पुनः आन्दोलनमा उत्रिएका हुन् ।

सोही क्रममा बुटवलबाट प्रदेश राजधानी दाङ पुगेका पीडितहरूले आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयमा ज्ञापनपत्र बुझाउँदै ती मन्त्रालय र कार्यालय घेराउ गरेका छन् ।

पीडितमध्येका एक विजय नेपालले बचत फिर्ताको सुनिश्चित नभएसम्म चरणबद्ध आन्दोलन गर्ने बताए । सहकारीमा झण्डै दुई हजार बचतकर्ताको पौने एक अर्ब रकम फसेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सहकारीका एक हजार ३१ जनाले आफूहरूको ८६ करोड १ लाख २३ हजार अपचलन गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए । सहकारीका १९ हजार ३५ जना सदस्यको कुल बचत रकम एक अर्ब २ करोड १४ लाख २५३ रुपैयाँ देखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

सहकारीको रकम ऋणका रूपमा लैजानेमा संस्थापक अध्यक्ष जीबी राईदेखि पूर्वगृहमन्त्री रवि लामिछाने एक समय आबद्ध भएको गोर्खा मिडिया नेटवर्क समेत छन् ।

प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले चलाएको मुद्दामा सहकारीका अध्यक्ष बुटवलका ओमप्रकाश गुरुङ थुनामा छन् । अन्य ६ जना जिल्ला अदालत रुपन्देहीले धरौटीमा रिहा गर्न आदेश गरे अनुसार रिहा भएका छन् । सहकारीका पूर्वपदाधिकारी पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन चार लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् ।

प्रकाशित : २८ श्रावण २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६