प्रदेश

एमाले बाणगंगामा २ सय ११ प्रतिनिधि छनौट



कपिलवस्तु, २९ साउन । नेकपा एमाले बाणगंगा नगरपालिकामा पार्टी सदस्य घटेका छन् । नगर सचिव विष्णु गिरीले मंगलबार बसेको नवौँ वैठकमा प्रस्तुत गरेको प्रतिवेदन अनुसार साउन २५सम्म नविकरण भएका कुल पार्टी सदस्यको संख्या जम्मा २७६२ रहेको छ । यो पहिलेको संख्याभन्दा कम हो । एमाले बाणगंगामा यसअघि २९ सय बढी पार्टी सदस्य थिए । यसरी तुलना गर्दा नगरमा १ सय बढी पार्टी सदस्य अहिले घटेका हुन् ।

के कारणले नविकरण हुनेको संख्या घट्यो भन्ने छलफल नभए पनि मुलुकको बढ्दो राजनैतिक नैराश्यता, पार्टीमा बसेर पनि के हुने रहेछ र ? भन्ने भाव, स्थानीय तहको नेतृत्वले गरेका कतिपय गतिविधिका कारण पनि कतिपयले पार्टी सदस्यता नविकरण नगरेको अनुमान छ ।

‘सदस्यता नविकरण नभएको भन्दैमा एमाले कमजोर भयो, सदस्य घटे भन्ने होइन, एक जना नेताले भने, ‘उहाँहरुले सदस्यता नविकरण नगरेको मात्र हो । पार्टीलाई आवश्यक पर्दा जिउ ज्यान दिनुहुन्छ । जिल्लाभर संगठनप्रति आकर्षण छ । चिन्ता लिनुपर्दैन । भोलि चुनावमा भोट पनि एमालेमै हाल्नु हुन्छ । अलिकति तलमाथि भइहाल्छ ।’

अब यहि २७६२ बाट छनौट भएका २११ प्रतिनिधिले नगर अधिवेशनमा सहभागिता जनाउने छन् । भदौ १ गतेबाट वडावडामा प्रतिनिधि छनौट कार्य सुरु हुने बताइएको छ । त्यसको लागि प्रतिनिधि छनौटको मापदण्ड पनि बनाएको छ । नगर सचिव विष्णु गिरीका अनुसार नवौं पुर्ण बैठकले भदौ १ गते ११ बजे ११ वटै वडामा अधिवेशनका प्रतिनिधि छनौट गर्ने कार्यक्रम तय गरेको छ ।

अधिवेशनका लागि खुल्ला तर्फबाट २७ सय ६२ पार्टी सदस्यमध्ये खुलातर्फ २५ जना बराबर एक जनाका दरले १ सय २९ जना, दलित सदस्य मध्ये १५ जना बराबर १ जनाका दरले १५ जना, ३ जना प्रतिनिधिमध्ये १ जना महिला अनिवार्य गरी ३८ जना महिला, कुल प्रतिनिधि संख्याको १५ प्रतिशत युवा अनिवार्य रहने गरी १७ जना युवा र ८० जना आयोजक कमिटीको तर्फबाट पदेन गरी २११ जना प्रतिनिधि छनौट हुने पार्टीले जनाएको छ ।

नगर कमिटीका अध्यक्ष युवराज पोख्रको अध्यक्षता रहेको बैठकमा पार्टी जिल्ला कमिटी कपिलवस्तुका अध्यक्ष बाबुराम खनाल, निवर्तमान अध्यक्ष डम्मर शर्मा, पुर्व जिल्ला अध्यक्ष झविलाल पोख्रेल, एमाले नेता बिष्णु पन्थी, प्रदेश कमिटी सदस्य धनु अधिकारी, केन्द्रिय सल्लाहकार परिषद सदस्य कासिराम बेल्बासे लगायतको सहभागिता रहेको थियो । पार्टीले मापदण्ड अनुसार प्रतिनिधि छनौट गर्न वडाहरुलाई निर्देशन दिएको छ ।

प्रकाशित : २९ श्रावण २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६