काठमाण्डौं, ३० साउन ।
संक्रमणकालीन न्यायको विषय टुंगिँदै गर्दा पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका तत्कालीन सभापति स्व. गिरिजाप्रसाद कोइरालालाई स्मरण गरेका छन्। बुधबार प्रतिनिधिसभामा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा आफ्ना धारणा राख्ने क्रममा प्रचण्डले कोइरालालाई स्मरण गरेका हुन्।
संघीय लोकतान्त्रिक गणतन्त्र र शान्तिका निम्ति विभिन्न आन्दोलनमा प्राण आहुति गरेका सहिदहरूलाई सम्झँदै सम्बोधन सुरु गरेका प्रचण्डले शान्ति प्रक्रियालाई आजको दिनसम्म ल्याउन भूमिका खेल्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै शान्ति प्रक्रियाका धेरै विषयमा कोइरालासँग मिलेर काम गरेको बताए।
‘शान्ति प्रक्रियाका बाँकी कार्यभारसँग अत्यन्तै महत्त्वपूर्ण यो विधेयक पारित भइरहँदा म नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई एकपटक फेरि सम्झन चाहन्छु । मैले ६२ सालमा शान्ति प्रक्रियाको पहल गर्दै गर्दा सातदलीय गठबन्धन एवं नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइराला मेरो साझेदारका रूपमा हुनुहुन्थ्यो । सामाजिक न्यायसहितको संघीय लोकतान्त्रिक गणतन्त्र निर्माण गर्ने सन्दर्भमा हामीले शान्ति प्रक्रियाका धेरै विषयमा मिलेर काम गरेको कुरा पनि स्मरण गर्न चाहन्छु,’ प्रचण्डले भने।
अस्पतालको अन्तिम भेटमा कोइरालाले शान्ति प्रक्रियाको सम्पूर्ण जिम्मेवारी आफ्नो काँधमा रहेको बताएका उल्लेख गर्दै प्रचण्डले शान्ति प्रक्रियाको पूर्णतासँगै राजनीतिक क्रान्तिको एउटा अध्यायले समेत पूर्णता पाएको बताए। उनले भने, ‘आज उहाँ हामीमाझ हुनुहुन्न । तर, उहाँले सुम्पेको जिम्मेवारी आज सबै राजनीतिक दलबीचको सहमतिसँगै पूरा भएको छ । यद्यपि, यो कार्यान्वयनको जटिलता भने अझै पनि छ भन्ने म ठान्दछु ।’
प्रतिक्रिया