प्रदेश

नव प्रभात वनको तीज गीत प्रतियोगिताः टोल नम्बर ५ (क) विजय



बोर्डगाँउ, १६ भदौ – तीजको अवसरमा दर खाने परम्परागत संस्कृतिलाई जर्गेना गर्दै कपिलवस्तुको नव प्रभात सामुदायिक वन उपभोक्ता समूहले हरितालिका तीज पर्व मनाएको छ। वन उपभोक्ता समूहले तीजको अवसरमा सन्देशमुलक तीज गीत प्रतियोगिता आयोजना गर्दै सरल तरिकाले दर खाएर पर्व मनाएको हो।

प्रतियोगितामा ९ वटा टोल स्तरिय टोलीहरुले भाग लिएका थिए। टोल नम्बर ५ (क) पहिलो स्थानमा, टोल नम्बर ४ (ख) दोस्रो स्थानमा, टोल नम्बर ५ (ख) तेस्रो स्थानमा र टोल १ सान्तवना स्थानमा चयन भएका छन्। पुरस्कार स्वरूप पहिलो, दोस्रो, तेस्रो र सान्तवना स्थान हासिल गर्ने टोलीलाई क्रमशः नगद ८ हजार, ६ हजार ४ सय, ४ हजार ८ सय र ३ हजार २ सय रकम प्रदान गरियो, साथै प्रमाणपत्र पनि दिइयो। सहभागिता जनाएका प्रत्येक टोलीलाई १ हजार रुपैयाँ र प्रमाणपत्र दिइएको प्रतियोगिता संयोजक सिता पाण्डेले जानकारी गराइन्। केहि समुहले निर्णायक मण्डलको निर्णयसँग असन्तोष व्यक्त गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि डिभिजन वन कार्यालय कपिलवस्तुका सिनियर डिभिजनल वन अधिकृत अजित कुमार कर्णले वनले गरेका कामलाई प्रशंसा गर्दै तीज गीत प्रतियोगिता मार्फत वन जोगाउने कार्यमा योगदान दिएको बताएका छन्।

सन्देशमुलक तीज गीत प्रतियोगितासँगै वनले पारंपरिक दरखाने कार्यक्रम पनि सम्पन्न गरेको छ। यस क्रममा मासु, मदिरा, पुलाउ लगायतका परिकारको ठाउँमा खीर र अचार तयार गरी खुवाइएको थियो। खीर विशेषतः टपरीमा पस्केर खुवाइएको थियो।

वनका अध्यक्ष डिल्लीराज रेग्मीले तीजमा दर खाने परम्परालाई भड्किलो बनाइएको अवस्थामा नयाँ सन्देश दिने उद्देश्यले खीर पकाएर टपरीमा खुवाइएको जानकारी दिए। उनले भने, ”वनबाट नै निकालिएका पातलाई गाँसेर स्थानीयले टपरी तयार गरेका छन्।”

वनका उपाध्यक्ष मित्रलाल कँडेलले तीज गीतमा वन संरक्षण, जैविक विविधता, स्थानीय सरकार र वनको सम्बन्ध र वनले गरेका कार्यहरूको समेटिएको गीत संगीत बनाउन अनुरोध गरेका थिए, जसका फलस्वरूप सन्देशमुलक गीत सुन्न पाइयो।

सल्लाहाकार हुमनाथ पौडेल र नारायण भुसालले वनको तीज मनाउने कार्यक्रमलाई अत्यन्त सन्देशमुलक भने । कार्यक्रमको संचालन सचिव सिता पाण्डेले, र स्वागत मन्तव्य उपाध्यक्ष मित्रलाल कँडेलले दिएका थिए। निर्णायकमा संयोजक पूर्णचन्द्र परियार, सदस्य लालमाया थापा, कृष्ण न्यौपानेले भुमिका दिएका थिए । कार्यक्रममा पूर्णचन्द्र परियार, लालमाया थापा, पत्रकार चन्द्रकान्त न्यौपाने लगायतले प्रस्तुतिहरू दिएका थिए। यस कार्यक्रमको उपभोक्ताको व्यापक सहभागिता थियो।

प्रकाशित : १६ भाद्र २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६