प्रदेश

नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य



दाङ, ३ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नागरिकहरुमा बढ्दो आकांक्षालाई सम्बोधन गर्न राजनीतिक दलमा दरिलो एकता, समन्वय र सहकार्य जरुरी रहेको बताएका छन् ।

संविधान तथा राष्ट्रिय दिवस २०८१ को मूल समारोह कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेशको नारालाई सार्थक बनाउन सबै सरोकारवाला निकायको जिम्मेवारीपूर्ण भूमिका रहने बताएका हुन् । सम्वोधनको क्रममा उनले योजना निर्माण र कार्यान्वयनको तहमा लुम्बिनी प्रदेश अन्य प्रदेशको तुलनामा अग्रणी स्थानमा रहेको बताए ।

उनले दीर्घकालीन लक्ष्य निर्धारण गरेर प्रदेश सरकारले योजनाबद्ध विकासलाई प्राथमिकतामा राखेर कार्यान्वयन गरिरहेकाले अन्य प्रदेशको तुलनामा लुम्बिनी अग्रणी स्थानमा रहेको बताएका हुन् । ‘नेपालको संविधान, १६ औँ आवधिक योजना, दिगो विकासका लक्ष्य एवम् अन्तर्राष्ट्रिय प्रतिवद्धता, लुम्बिनी प्रदेश सरकारको दोस्रो आवधिक योजनाको अवधारणा पत्र, दश वर्षे दीर्घकालिन रणनीतिक योजना, मध्यमकालिक खर्च संरचना, प्रत्येक वर्ष सालवसाली रुपमा प्रदेश सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम प्रति केन्द्रित रही बजेट तर्जुमा गरी कार्यान्वयन गरिरहेको अवस्था छ जसको कारण सातवटै प्रदेशमा लुम्बिनी प्रदेश अग्र स्थानमा छ’, मुख्यमन्त्री आचार्यले भने, ‘आर्थिक सुचकांकका हिसाबले कुल ग्राहस्थ उत्पादन बढेर गएको छ । प्रतिव्यक्ति आय र बहुआयमिक गरिबीको दर घटेको छ । बालमुत्युदर, मातृमृत्युदर समेत घटेको अवस्था छ । शिक्षा, स्वास्थ्य, सडक लगायत विकास पूर्वाधारहरुमा समेत नागरिकको पहुँचहरु वृद्धि भएको छ र सुशासन सामाजिक न्याय र समृद्धिको माध्यमबाट लुम्बिनी प्रदेशको समग्र विकासलाई नागरिक समक्ष पु¥याउने गरी हाम्रा कार्यक्रमहरु लक्षित छन् ।’

लुम्बिनी प्रदेश सरकारले पनि प्रदेश सभाबाट ७२ वटा कानून निर्माण गरी कार्यान्वयनमा ल्याइसकेको छ भने केही कानूनहरु निर्माणको चरणमा रहेको मुख्यमन्त्री आचार्यले बताए । तर, साझा अधिकार सूचीका कानूनहरु सबै नबन्दा केही कठिनाइ महसुस भएको मुख्यमन्त्री आचार्यले बताए । कानूनहरु संघीय सरकारबाट द्रुत गतिमा निर्माण गर्न प्रदेश सरकारले समन्वय र सहकार्य गर्न तत्पर रहेको उनले उल्लेख गरे ।

न्युन जनशक्ति, नयाँ स्थानमा प्रदेश राजधानीको व्यवस्थापन, प्रदेश गौरवका आयोजनाको सम्पन्नता तथा न्यून जनशक्तिको व्यवस्थापनका लागि आवश्यक कानून तर्जुमा तथा परिमार्जन गर्ने गरी सरकार अघि बढेको उनले स्पष्ट पारे । ‘प्रदेशलाई सुशासन, प्रविधिमैत्री बनाई नागरिकलाई पु¥याउने सेवामा थप प्रभावकारी बनाउने गरी समेत कार्य भइरहेका छन्’ उनले भने, ‘प्रदेशलाई भ्रष्टाचार मुक्त बनाउन र हाम्रा कार्यशैलीहरुमा समेत मितव्ययीता तथा सदाचारी शैलीको विकास गर्दै नागरिकका गुनासाहरुलाई समयमै सम्बोधन गर्ने र सार्वजनिक पद धारण गरेका व्यक्तिले पालना गर्नु पर्ने आचारसंहिता तथा आयोजनाहरुको लागत कम गर्ने गरी प्रतिस्पर्धात्मक पद्धति अवलम्बन तथा अनुगमनको भरपर्दो व्यवस्था गर्ने गरी संयन्त्र निर्माण गर्न तर्फ हामी अगाडि बढेका छौं ।’

मुख्यमन्त्री तथा मूल समारोह समितिका अध्यक्ष चेतनारायण आचार्यको अध्यक्षता तथा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सभामुख तुलाराम घर्ती मगरले संविधानमा उल्लेखित अधिकारहरु कार्यान्वयन गर्न तीन तहका सरकारको विचमा समन्वय, सहकार्य र सहअस्तित्वको मुल मर्मलाइ आत्मसात् गरेर अघि बढ्न जरुरी रहेको बताए । “जनमुखी कानुन निर्माण गरेका छौं । हिजो बनाएका कानुनलाई समय सापेक्ष बनाउनेगरी अघि बढ्ने छौं”, उनले भने– “इमानदारी पूर्वक संविधान कार्यान्वयनमा जुटौं । सबै दलको विचमा सद्भावपूर्ण एकता कायम गरेर अघि बढ्नुपर्ने छ ।

निवर्तमान मुख्यमन्त्री तथा प्रमुख प्रतिपक्ष दलका नेता जोखबहादुर महराले समतामूलक समाज निर्माण गर्न, समृद्धि हासिल गर्ने आकांक्षा बोकेको संविधानको पूर्ण कार्यान्वयनमा सबै एक ठाउँमा उभिनु पर्ने बताए ।

पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेसका दल नेता डिल्लीबहादुर चौधरीले संविधानको मुल मर्म संघीयता र एकता भएको बताए ।

शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले प्रदेशले कानुनी आधार निर्माण गरिसकेकाले अव विकास र प्रतिफल नागरिक तहमा पु¥याउन सरकार प्रतिबद्ध रहेको बताए ।

झाँकी र प्रभातफेरीको उत्सव

संविधान दिवसलाई भब्य र रचनात्मक बनाउन विभिन्न समुदायको कला संस्कृती झल्किने झाँकी प्रदर्शन गरिएको छ । मगर, थारु, नेवार, ब्राहमण लगायतका समुदायले आ–आफ्नो समुदायको कला संस्कृती सहितको झाँकी प्रदर्शन गरेका हुन् । संविधान दिवसलाई उत्सवमय बनाउन विविधतायुक्त झाँकीहरु प्रदर्शन गरिएको थियो । राप्ती नेवारी समाजले परम्परागत रोपाइ जात्रा, थारु समुदायको झाँकी, राप्ती स्काउट समूहले स्काउट झाँकी, राप्तीको नौमती बाजा सहितको झाँकी प्रस्तुत गरिएको थियो ।

प्रकाशित : ३ आश्विन २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६