प्रदेश

शान्ति सुरक्षामा चुनौतीः नागरिकको गुनासो र प्रहरीको प्रतिबद्धता



बाणगंगा, २२ असोज । समाजमा शान्ति सुरक्षा कायम गर्न प्रहरी र नगर प्रहरीबीचको सहकार्यलाई अझ सुदृढ गर्न आवश्यक रहेको सुझाव नागरिकहरूले दिएका छन्। मङ्गलवार कपिलवस्तुको बाणगङ्गा नगरपालिकामा आयोजित समुदाय – प्रहरी साझेदारी नागरिक सुनुवाइ कार्यक्रममा सहभागी नागरिकहरूले शान्ति सुरक्षासँग सम्बन्धित विभिन्न समस्याबारे गम्भीर चिन्ता व्यक्त गरेका थिए।

नागरिकहरूले विशेषगरी चाडपर्वको समयमा हुने उच्छृङ्खल गतिविधि, चोरी, लागूपदार्थ दुर्व्यसनी, हत्या र आत्महत्या जस्ता अपराधका घटनामा वृद्धि भएको भन्दै यी समस्याहरूको तत्काल समाधानको माग गरेका छन्। त्यस्तै, बाणगङ्गा खोलामा हुने चोरी र तस्करीमा सेटिङ हुने गरेको आरोप पनि लगाएका थिए। स्थानीय व्यापारी तथा व्यवसायीले प्रहरीको निगरानीको अभावले सीमा क्षेत्रमा ठूला आर्थिक समस्याहरू झेल्नुपरेको गुनासो राखेका थिए।

कार्यक्रममा नागरिकहरूबाट उठाइएका गुनासा तथा प्रश्नहरूको सम्बोधन गर्दै बाणगङ्गा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले, नगरपालिकाले प्रहरीसँगको सहकार्यलाई सुदृढ बनाउन निरन्तर प्रयास गरिरहेको बताउनुभयो। उहाँले नदीजन्य पदार्थको चोरी निकासी रोक्न नगर प्रहरी र नेपाल प्रहरीको सक्रियता उल्लेखनीय रहेको स्पष्ट पार्नुभयो। त्यस्तै, मेयर अर्यालले ठेलागाडा तथा बजार व्यवस्थापनमा स्थानीय समुदायसँग समन्वय गरेर कानुनी प्रक्रिया अगाडि बढाइरहेको जानकारी दिनुभयो।

इलाका प्रहरी कार्यालय पिपराका प्रमुख, लोकेन्द्र बहादुर जी. सी.ले पनि कार्यक्रमको औचित्यलाई उजागर गर्दै समुदायले उठाएका प्रश्नहरूलाई सम्बोधन गर्ने प्रयास भइरहेको बताउनुभयो। उहाँले प्रमुख समस्याहरूको गहिरो अध्ययन भइरहेको र समग्र नगरको शान्ति सुरक्षा कायम गर्न प्रहरी टिम निरन्तर क्रियाशील रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो। प्रहरी नायब निरीक्षक नवीन पाण्डेले प्रहरीका विभिन्न रचनात्मक गतिविधिहरू, प्रहरी कार्यालयमा दर्ता भएका मुद्दाहरू, र प्रहरीद्वारा सङ्कलित राजस्वसम्बन्धी विवरणहरू प्रस्तुत गर्नुभयो।

कार्यक्रममा नगर उपप्रमुख रिता कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी, वडा अध्यक्षहरू, सशस्त्र बेसक्याम्प पिपराका प्रमुख, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू, सञ्चारकर्मीहरू र अन्य समाजिक प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन प्रहरी ईश्वर भट्टराईले गर्नु भएको थियो भने स्वागत मन्तव्य प्रहरी वरिष्ठ नायब निरीक्षक कृष्ण प्रसादले दिनुभएको थियो।

प्रकाशित : २२ आश्विन २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६