कृषि

युवती बेपत्ता पारेको आरोपमा प्रहरी चौकी इञ्चार्ज पक्राउ




बैतडी २७ असोज । बैतडीमा युवतीलाई बेपत्ता पारेको आरोपमा प्रहरी चौकीका इञ्चार्ज पक्राउ परेका छन् । पञ्चेश्वर गाउँपालिका–२ डिम्बरकी अन्दाजी १९ वर्षीया किशोरी बेपत्ता पारेको आरोपमा महाकाली प्रहरी चौकी डिम्बरका इञ्चार्ज प्रहरी हवल्दार कृष्णराज जोशीलाई पक्राउ गरिएको बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपि) मकेन्द्र मिश्रले बताए ।

उनीमाथि कुटपिट समेत भएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख तथा प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले हवल्दार जोशीमाथि अमानवीय रूपमा स्थानीय बासिन्दाले कुटपिट गरेको बताए । ‘जोशीलाई दाम्लोले बाँधेर कुटपिट गरिएको थियो’, डीएसपी मिश्रले भने, ‘अहिले उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । अवस्था भने खतरामुक्त छ ।’

डीएसपी मिश्रका अनुसार डिम्बरकी १९ वर्षीया किशोरी बेपत्ता भएको घटनामा जोशीको संलग्नता रहेको आरोप लगाउँदै स्थानीयले जोशीलाई नियन्त्रणमा लिएर कुटपिट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ‘आरोपित हवल्दारमाथि पनि अनुसन्धान हुन्छ’, डीएसपी मिश्रले भने, ‘तर अहिले अस्पतालमा उपचार भइरहेको हुँदा सोधपुछ पनि गर्न पाएका छैनौँ ।’

प्रहरी स्रोतका अनुसार हवल्दार जोशी अस्पतालबाट डिस्चार्ज भएपछि नियन्त्रणमा लिएर अनुसन्धान गर्ने तयारी छ । १९ वर्षीया किशोरी शुक्रबार बिहान ४ बजे पानी ल्याउने भन्दै घरबाट प्लाष्टिकको जर्किन लिएर निस्किएकी थिइन् । दिउँसोसम्म पनि घर नफर्किएपछि परिवारले उनको खोजी गरेका थिए । बेपत्ता किशोरी अझै फेला परेकी छैनन् ।

स्थानीय बासिन्दाले भने प्रहरी चौकी इञ्चार्ज जोशीले नै किशोरीलाई बेपत्ता पारेको आरोप लगाएका छन् । उनीहरूका अनुसार किशोरी र हवल्दार जोशीबीच विगतदेखि नै फोन सम्पर्क र भेटघाट हुने गरेको थियो । जोशी कञ्चनपुरको वेदकोट नगरपालिका–५ का स्थानीय हुन् ।

युवती बेपत्ता भएको घटनामा चौकी इञ्चार्ज पक्राउ परेपछि त्यहाँ कार्यरत अन्य प्रहरी समेत जिल्ला तानिएका छन् । प्रहरी निरीक्षक ढुंगानाले चौकीमा कार्यरत एक जना प्रहरी सहायक हवल्दार र दुई जना प्रहरी जवानलाई जिल्ला झिकाइएको बताए । उनीहरुको ठाउँमा जिल्ला प्रहरी कार्यालयबाट नयाँ प्रहरी खटाइएको छ ।

प्रकाशित : २७ आश्विन २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६