प्रदेश

वाणगङ्गाका भास्कर र दशरथले फुलाए घोराहीमा ढकमक्क सयपत्री फुल



कात्तिक, ३ गते ।
वाणगङ्गा नगरपालिका कपिलवस्तुका भास्कर पङ्गेनी र दशरथ साउदले घोराही उपमहानगरपालिका–१५ भरतपुरमा व्यावसायिक सयपत्री फूलखेती गर्नुभएको छ । उहाँको फूलखेतीमा पुग्ने जो कसैको मन आनन्दित हुन्छ । कतिपयले आइपुग्ने बित्तिकै सेल्फी खिच्ने गर्छन् । तिहार लक्षित सयपत्रीले फूलबारी पहेँलै भएका छन् ।


भास्करसँगै प्राविधिक सहायक दशरथ साउद पनि फूलखेतीमा लाग्नुभएको छ । कृषि प्राविधिक पढेर कृषिमा लाग्नु भएका साउदले फूलखेतीमा लाग्ने रोगकिरा र अन्य प्राविधिक पक्ष हेर्नुहुन्छ । कपिलवस्तुमा छ वर्ष पहिलेदेखि फूल खेतीमा लाग्नुभएका पङ्गेनी र साउदले तीन वर्ष अघिदेखि दाङमा व्यावसायिक फूलखेती विस्तार गर्नुभएको हो ।


घोराही–१५ भरतपुरमा १७ कट्ठा जमिन मासिक दुई हजार भाडामा लिएर उहाँहरूले फूलखेती गरिरहनुभएको छ । गत वर्ष तिहारमा मात्रै १३ लाखको फूल बिक्री गरेको साउदले बताउनुभयो । तिहार पछाडि सयपत्री फूलेपछि सोही स्थानमा ‘टिकटक स्पट’ बनाएर रु पाँच लाख आम्दानी गरेको उहाँले बताउनुभयो । यसपालि एकै सिजनमा १५ देखि २० लाख आम्दानी गर्ने लक्ष्य उहाँहरूको छ ।


उहाँहरूले दुई वर्ष अगाडि कर्मा–५५५ जातको सयपत्री फूलबाट खेती सुरु गर्नुभएको थियो । यसपालि कर्मा ५५५, कर्मा–९९९ यल्लो गरी दुई जातका सयपत्रीका बिरुवा रोप्नुभएको छ । दाङमा ८० हजारको बीउ किनेर बेर्ना राखेको दशरथ साउदले बताउनुभयो ।


स्वदेशमै कृषिबाट आम्दानी गर्न सकिने अर्का व्यवसायी भास्कर पङ्गेनी बताउनुहुन्छ । उहाँले बेरोजगार युवालाई कृषिमा जोड्ने उद्देश्यले एक सय आठ अवधारणा बनाई कृषि फार्मको नाम नै एक सय आठ राख्नुभएको छ । फूल उत्पादनका लागि दाङको माटो उपयुक्त रहेको उहाँको भनाइ छ । यहाँ उत्पादित फूल भण्डारण गर्ने चिस्यान केन्द्र नहुँदा लामो समयसम्म राख्न समस्या भएको उहाँले बताउनुभयो ।


राम्रो चिस्यान केन्द्र भएमा स्वदेशमा उत्पादित सयपत्री विदेश निर्यात गर्न सकिने उहाँले बताउनुभयो । फूलमा नेपाललाई आत्मनिर्भर बनाउने उद्देश्यले जिल्लाहरूमा क्षेत्र विस्तारको योजना बनाएको पङ्गेनीको भनाइ छ ।

प्रकाशित : ३ कार्तिक २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६