देश

सहकारीले संकलन गरेको छुर्पी अमेरिका निर्यात



बागलुङ, ०६ कार्तिक ।
पछिल्लो समय यहाँ उत्पादित छुर्पीले राम्रो बजार पाएको छ । सहकारीमार्फत संकलित दूधबाट उत्पादित छुर्पीको माग उच्च छ । यहाँ उत्पादित छुर्पी काठमाडौं हुँदै अमेरिका निर्यात हुने गरेको छ ।


बागलुङ दुग्ध उत्पादक सहकारी संघमार्फत दूध संकलन, प्रशोधन र बजारीकरण हुने गरेको छ । वार्षिक आठ करोडको दूध तथा दुग्धजन्य पदार्थको कारोबार गर्ने सहकारी संघले आर्थिक वर्ष २०८०/८१ मा मात्रै ३८ लाख ५४ हजार चार सय १० को छुर्पी अमेरिका निर्यात गरेको हो । दुग्ध सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमका अनुसार सहकारीबाट उत्पादित दूध, दही, घ्यू, पनिर, छुर्पी र खुवामध्ये छुर्पीको माग अन्तर्राष्ट्रिय बजारमा उच्च छ । “दूध, तथा अन्य उत्पादनहरू बागलुङमै खपत भइरहेको हुन्छ, तर छुर्पीको बजार अन्तर्राष्ट्रियस्तरमा छ”, गौतमले भने ।

दुग्ध उत्पादक सहकारी संघमा एक हजार पाँच सय किसान आबद्ध छन् । संघले किसानबाट संकलित दूधसहित अन्य सात प्रकारका दुग्धजन्य परिकार उत्पादन गरी बिक्री तथा वितरण गर्दै आएको छ ।


संघले बागलुङ जिल्ला दूधमा आत्मनिर्भर बनाएको छ । सहकारीले गत आवमा सात करोड ८३ लाखको दूध, एक करोडको दही, २० लाखको घ्यू, ३२ लाखको पनिर र ८० हजारको खुवा बिक्री गरेको जनाएको छ ।


हाल सहकारी संघले छुर्पी प्रतिकिलो एक हजार दुई सयमा बिक्री गर्दै आएको छ । सहकारीमा आबद्ध किसानले सहकारीमा आवद्ध भएपछि दूधको मूल्यमा समानता र बजारको सुनिश्चिता भएकाले हौसला मिलेको बताएका छन् । सहकारी संघमा १६ कर्मचारीले संकलित दूध बागलुङ बजारका घरघरमै लगेर बिक्री गर्ने गरेको सहकारीका लेखापाल गणेश खड्काले बताए ।

कृषकले उत्पादन गर्ने, सहकारीले संकलन गर्ने र सहकारी संघले दूध प्रशोधन गरी दुग्धजन्य पदार्थ बिक्री गरेर सहकारीको असल अभ्यास गरेको राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा सहकारी अभियन्ता रामबहादुर जिसीको भनाइ छ । दैनिक यहाँका काठेखोला गाउँपालिका र बागलुङ नगरपालिका किसानले उत्पादन गरेको दूध खरिद गरी १४ वटा सहकारीमार्फत संघले बजारीकरण गर्दै आएको छ । रासस

प्रकाशित : ६ कार्तिक २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६