कपिलवस्तु । स्थानीय तह उपनिर्वाचनका लागि रिक्त रहेको शुद्धोधन गाउँपालिका वडा नं. १ को वडा अध्यक्ष पदका लागि १४ जनाले मनोनयन दर्ता गराएका छन् ।वडा न.१ को कार्यालय सोहसामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर आइतबार १० जना पार्टीका उम्मेदवार र ४ जना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् । कांग्रेसबाट दिनेश कुमार यादव, माओवादी केन्द्रबाट रफिमोहम्मद मुसलमान, एमालेबाट मोहम्मद ताहिर मुसलमान, जनमतबाट सिताराम पटेलकुर्मी र जनता समाजवादी पार्टीबाट रमेशकुमार पाण्डेले उम्मेदवारी दिएका छन् ।
त्यस्तै जनता समाजवादी पार्टी नेपालबाट रामबहादुर चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका इजताज अहमद धोबी, नागरिक उन्मुक्ती पार्टीबाट सूर्यकुमार चौधरी, रास्वपाबाट अवधेश चौधरी र नेकपा एकीकृतबाट सुब्बा थारुले उम्मेदवारी दिएका छन् । त्यस्तै सर्बजीत मल्लाह, अब्दुल मुईद खा, अब्दुल फकिर र पुजारी थारुले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
उम्मेदवारहरु नेता कार्यकर्तासहित मनोनयन दर्ता गर्न पुगेका थिए । ब्यानर बोकेर नारा जुलुस गर्दै गीत बजाउँदै उम्मेदवार मनोनयनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । वडा अध्यक्ष तिलकराम यादवको मृत्यु भएपछि रिक्त पदमा निर्वाचन भइरहेको हो । मंसिर ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ ।
प्रतिक्रिया