देश

पास भएको खुसीमा खाएको भोज बन्यो हत्याको कारक



कपिलवस्तु ९ पुस ।२३ वर्षीय नयन गुरूङ ललितपुरको च्यासलमा रहेको हिमालय कलेज अफ इन्जिनियरिङमा पढ्थे।सोमबार सातौं सेमेस्टरको परीक्षाको रिजल्ट निस्किएको थियो। त्यही खुसीयालीमा सुनसरी इटहरी घर भएका नयनसहित सात(आठ जना साथीभाइ भेला भएका थिए।

साथीहरू भेला हुन उनीहरू कलेज नजिकै रहेको ललितपुर महानगरपालिका वडा नम्बर ९ च्यासलको द टाउन हब क्याफेमा बस्थे। सोमबार पनि त्यही क्याफेमा उनीहरू दिनभरजसो बसे।

क्याफेमा साँझपख उनीहरू निस्किन खोजे। बिल तिर्न काउन्टरमा गए। त्यहाँ हेमराज भट्ट बसिरहेका थिए।च्यासल बस्ने उनी केही समयअघि मात्रै उक्त क्याफेमा काम गर्न आएका थिए। उनले उधारो रहेको कापी हेरे नयनसहितको समूहको पहिलाको पनि पैसा तिर्न बाँकी रहेछ।

पहिलेदेखिकै उधारो रकम तिर्न बाँकी रहेपछि भट्टले भने, ‘पहिलेको पनि उधारो बाँकी छ। त्यो पनि तिर्नू।यसो भनेपछि नयनले सधैं आइरहने हो भनेर बिल तिर्न आनाकानी गरेका थिए। हिजो खाएको बिलमा पनि नयनले डिस्काउन्ट माग्न खोजिरेहका थिए।यही विषयलाई लिएर दुई पक्षबीच भनाभन पनि भयो।
‘हामी सधैं आइरहने यो क्याफेमा तँ अस्ति भर्खरै आएको होस्,’ भन्ने लगायतका कुरा पनि नयनले हेमराजलाई भनेका थिए।दुई पक्षबीच विवाद नै भए पनि नयनहरूले सोमबार खाएको बिलको भने भुक्तानी गरे।
तर त्यही कुरालाई लिएर नयन र अर्का एक साथी राति करिब ९ बजेतिर उक्त क्याफेमा पुगेको देखिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालले बताए।

‘घटना कुनै पनि योजनाबद्ध रूपमा भएको देखिन्न। परिस्थितिअनुसार तत्काल भएको देखिन्छ,’ उनले भने, ‘बिल तिरेर गइसकेको मान्छे फेरि आएपछि चक्कु प्रहारसम्म भएको देखिन्छ।’
फेरि विवाद गर्न पुगेपछि हेमराजले किचनको चक्कु ल्याए। त्यसैबीच नयनको छातीमा प्रहार गरे।छातीमा चोट लागेर गम्भीर घाइते भएका नयनलाई तत्कालै ग्वार्कोस्थित बिएन्डबी अस्पताल लगिएको थियो।त्यहाँ लगेपछि मात्रै यसबारे प्रहरीलाई जानकारी भएको थियो।

‘शरीरमा धेरै चोट पनि छैन। छातीमै लागेको भएर मृत्यु भएको देखिन्छ। एक पटक हानेको देखिन्छ,’ एसएसपी खनालले भने।घटनाबारे थाहा पाएपछि प्रहरीको टोली घटनास्थलमा पुग्यो। त्यहाँ नजिकैको एक ठाउँमा उनी लुकेर बसेको अवस्थामा फेला परेको एसएसपी खनालले बताए।

यो घटनामा अन्य दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ। उनीहरू जनकबहादुर तामाङ र पदमलाल भट्ट छन्। उनीहरूको भने संलग्नता यसमा नदेखिएको प्रहरीको भनाइ छ। उनीहरूमाथि घटनाबारे प्रहरीले सोधपुछ गरिरहेको छ।नयनको शव पोष्टमर्टमका लागि पाटन अस्पतालमा राखिएको छ। परिसरले यस घटनाको अनुसन्धान अघि बढाएको छ।

प्रकाशित : ९ पुस २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६