अर्थ-वाणिज्य

गुल्मीमा मकैको पिठो ‘ब्राण्डिङ’



गुल्मी, २२ भदौः

जिल्लामा पहिलो पटक मकैको पिठो ब्राण्डिङ गर्न सुरु गरिएको छ । मुसिकोट नगरपालिकामा साना किसान कृषि सहकारी संस्थाले मकैको पिठो ब्राण्डिङ गर्न लागेको हो ।

मुसिकोट–४ स्थित फेदीमा खाद्य प्रशोधन उद्योग स्थापना गरेर मकैको पिठोको ब्राण्डिङसँगै त्यसको बजारीकरण गर्न लागिएको हो । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ, नगरपालिका र कृषि ज्ञान केन्द्रको रु ७३ लाख तथा साना किसान सहकारी संस्थाको रु १६ लाख ५० हजार गरी करिब रु ९० लाखको लागतमा प्रशोधन उद्योग स्थापना गरिएको छ ।

साना किसान कृषि सहकारी संस्थाबाट उत्पादित पिठो स्थानीय बजारदेखि बुटवलसम्म पुग्ने गरेको साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष हरि छन्तेलले बताउनुभयो । साना किसान सहकारीले स्थानीय किसानबाट प्रतिपाथी रु २०० मा मकै खरिद गरेको छ । 

किसानबाट खरिद गरेको स्थानीय जातको मकैैलाई उद्योगमा प्रशोधन गरी त्यसलाई लेबलिङ र प्याकेजिङ गरेर बजारमा पठाइएको अध्यक्ष छन्तेलले बताउनुभयो । यसरी प्रशोधन गरेर तयार गरिएको मकैैको पिठोको मूल्य प्रतिकिलोे रु १३० निर्धारण गरिएको छ ।

तत्कालीन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइबाट मकैको प्रशोधन, लेवलिङ र प्याकेजिङ गर्ने उपकरणमा कार्यालयबाट ८५ प्रतिशत अनुदान उपलब्ध गराइएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका प्रमुख रमेश जैसवालले जानकारी दिनुभयो । 

यस आर्थिक वर्षमा सहकारीमार्फत स्थानीय बजारहुँदै बुटवल र काठमाडौँसम्म ३५ टन बराबरको पिठो बिक्री गर्ने लक्ष्य रहेको साना किसान कृषि सहकारी संस्थाका व्यवस्थापक विवेक पेमीले बताउनुभयो । 

नगरपालिकाका प्रमुख जिवलाल खरेल जीवनले गाउँमा केही भएन भनेर भाष्य निर्माण गर्नेका लागि साना किसान सहकारीले गतिलो उदाहरण प्रस्तुत गरेको बताउनुभयो । उहाँले सहकारीबाट उत्पादित मकैको पिठोलाई बजारीकरण गर्न नगरपालिकाबाट सक्दो सहयोग गर्ने बताउनुभयो । उहाँले बजारमा उक्त पिठोको माग बढ्दै गएको बताउनुभयो । 

विसं २०६३ मा घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गरेर स्थापना गरिएको उक्त सहकारी संस्थाले नगरपालिकाअन्तर्गत वडा नं २, ३ र ४ का करिब ३०० घरधुरीलाई प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा सहयोग पु¥याउँदै आइरहेको छ ।

प्रकाशित : २२ भाद्र २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६