जीवनशैली

चोरी डकैटीबाट बचाउन युवाको गस्ती



भक्तपुर, २९ भदौः

रात चकमन्न हुन्छ । सबैतिर सन्नाटा छाउँछ । सबै नागरिक सुत्छन् तर सिरुटारका युवाहरू भने उठ्छन् । आफ्नो गाउँ र टोलवासीलाई सुरक्षित राख्न, चोरी डकैटीबाट बचाउन यहाँका युवाहरू आफँै गस्ती गर्न थालेपछि यहाँका सिङ्गो बस्ती सुतिरहँदा युवाहरू भने उठेर रातभरि गस्ती गर्ने गरेका छन् ।

सूर्यविनायक नगरपालिका–१ सिरुटारका युवाहरूले सिरुटार उपयोगी चोकदेखि माथिल्लो सिरुटार थापागाउँसम्म करिब पाँच किलोमिटर आसपास क्षेत्रमा विगत तीन दिनदखि रातभरि गस्ती सुरु गरेका स्थानीय अनुप राउतले जानकारी दिनुभयो । रातको समयमा गाउँगाउँमा अपरिचित र घरेलु हतियार बोकेका व्यक्ति प्रवेश गरेका भन्दै भक्तपुरका गाउँगाउँमा, वडावडामा स्थानीय युवाले रातभरि गस्ती गर्न सुरु गरेका उहाँले बताउनुभयो ।

करिब २५ युवाले चोकचोकमा दस्ता बनाएर रातभरि हातमा लाठी बोकेर गाउँको सरक्षण गर्न खटिएका सिरुटार उपयोगी चोकका स्थानीय सचिन श्रेष्ठले जानकारी दिनुभयो । प्रहरी नियमित रूपमा आफ्नो ड््युटीमा फर्किन नसकेको र गस्ती पनि गर्न नसकेको अवस्थामा गाउँमा नयाँ व्यक्तिको आवतजावत धेरै बढेकाले सम्भावित लुटपाट, चोरी, डकैटी रोक्न गर्दै स्थानीयले दिउँसो चनाखो हुने तथा रातभर युवा दस्ता बनाएर गस्ती गर्ने गरेका छन् ।

दधिकोट क्षेत्रबाट २०–२५ जना अपरिचित व्यक्ति हतियारसहित सिरुटार छिरेको जानकारी आएपछि युवाहरू आफ्नो गाउँको सुरक्षाका लागि रातभरि गस्ती सुरु गरेका छन् । प्रहरी आफैले गस्ती गर्ने अवस्था नआएसम्म युवाले गस्ती जारी राख्ने स्थानीय अमित राउतले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यतिखेर आफ्नो घरमात्र होइन, आफ्नो गाउँ र टोलको सुरक्षा गर्न आफैँ खटिनुपर्ने बेला आएको छ, त्यसैले स्थिति सामान्य नभएसम्म हरेक दिन हामी राति पालैपालो गस्ती गर्छौँ ।”

सिपाडोलमा वडा तहबाटै सुरक्षा समन्वय समिति गठन गरेर गस्ती सुरु गरिएको छ । स्थानीयस्तरमा बढ्दो आपराधिक गतिविधि रोक्दै शान्ति सुरक्षा कायम गर्न वडाध्यक्ष पुष्पराज बस्नेतको संयोजकतत्वमा प्रहरी बृत्त जगातिका प्रहरी नायब उपरीक्षक रमेश पाल सदस्य सचिव रहनेगरी ३३ सदस्यीय सुरक्षा समन्वय समिति गठन गरेको छ ।

समन्वय समितिले स्थानीयस्तरमा आपराधिक गतिविधि नियन्त्रण गर्ने भूमिका निर्वाह गर्ने वडाध्यक्ष बस्नेतले जानकारी दिनुभयो । सूर्यविनायक–७ गुण्डुमा पनि स्थानीयले गस्ती सुरु गरेका छन् । दिउँसो अपरिचित व्यक्तिको झुण्ड गाउँगाउँमा घुमेको देखिएपछि टोलटोलमा स्थानीयले गस्ती सुरु गरेका हुन् । आज राति नयाँ मानिसको झुण्ड गाउँमा पसेपछि गुण्डुवासीले केहीलाई समातेको र केहीलाई भगाएको स्थानीयले जानकारी दिएका छन् ।

प्रहरी सहज रूपमा बाहिर आएर गस्ती गर्न सक्ने अवस्था नभएपछि स्थानीय आफँैले गस्ती गर्न सुरु गरेको भन्दै दिउँसो पनि आफ्नो घर र गाउँमा सुरक्षित रहँदै चनाखो हुन जनप्रतिनिधिले आह्वान गरेको स्थानीय अमित राउतले जानकारी दिनुभयो । चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा पनि तीन दिनदेखि रातभरि गस्ती गर्ने गरेको वडाध्यक्ष सोम प्रधानले जानकारी दिनुभयो ।

प्रकाशित : २९ भाद्र २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६