कपिलवस्तु, आश्विन ६ गते
नेकपा (एमाले) का केन्द्रीय सदस्य एवम् कपिलवस्तु इञ्चार्ज गिरधारीलाल न्यौपानेले हाल देशमा सिर्जना भएका राजनीतिक घटनाक्रम तथा अस्थिरताको मूल कारण चुच्चे नक्सा प्रकरणसँग जोडिएको दाबी गर्नुभएको छ।
कपिलवस्तुमा आयोजित एमाले जिल्ला सचिवालय वैठकलाई सम्बोधन गर्दै नेता न्यौपानेले नेपाल सरकारले सार्वभौमिक हितलाई मध्यनजर गर्दै सार्वजनिक गरेको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक भएपछि देशी–विदेशी शक्ति केन्द्रहरूबाट निरन्तर दबाब सिर्जना भइरहेको बताउनुभयो। उहाँका अनुसार लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर तयार गरिएको नक्सा सार्वजनिक भएपछि राष्ट्रवादी शक्तिलाई कमजोर पार्ने उद्देश्यले विभिन्न गतिविधि भइरहेका छन्।
“यो केवल आन्तरिक मुद्दा होइन, यसको जरा बाह्य हस्तक्षेपमा पनि छ,“ उहाँले भन्नुभयो, “राष्ट्रवादलाई कमजोर पार्ने योजनाअनुरूप नै देशी–विदेशी शक्ति केन्द्रहरू सक्रिय बनेका छन्।“
नेता न्यौपानेले नेपालको स्वाधीनता, राष्ट्रिय पहिचान र सीमा सुरक्षामा सम्झौता गर्न नसकिने स्पष्ट पार्दै जनतामाझ सचेतना फैलाउनुपर्नेमा जोड दिनुभयो। उहाँले विगतका अनुभवले देखाएझैँ राष्ट्रियता र स्वाभिमानको मुद्दामा कुनै पनि नेपाली पछि नहट्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा सहभागी अन्य वक्ताहरूले समेत राष्ट्रिय हित र सीमा सुरक्षाको सवालमा सबै राजनीतिक दल, नागरिक समाज र आम जनतालाई एकताबद्ध हुन आग्रह गरेका थिए। उनीहरूले बाह्य शक्तिको दबाबलाई परास्त गर्दै राष्ट्रियताका सवालमा स्पष्ट धारणा लिन राजनीतिक नेतृत्वलाई चुनौतीको रूपमा लिएको बताए।









प्रतिक्रिया