काठमाडौँ, १६ असोज
दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँघर वा पूजा कोठामा नौ दिनसम्म पूजाआराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः५३ बजेको साइत उत्तम रहेको जनाएको छ । विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन साइत खोज्नु नपर्ने समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले बताउनुभयो । “राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ, राज्य सञ्चालकले शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकाले साइत दिइएको हो, साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ”, उहाँले भन्नुभयो । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापेर मनाइन्छ । आज नभ्याउनेले कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् । घटस्थापना गरी जमरा राखेको स्थानमा आह्वान गरिएका देवीलाई विसर्जनको साइत आज बिहान ०९ः२३ बजे रहेको समितिले जनाएको छ । लगाइमाग्ने पूर्व, लगाइदिने पश्चिम फर्कनुपर्ने विजयादशमीको दिन आज चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पूर्व फर्कनुपर्ने बताउनुहुन्छ धर्मशास्त्रविद् एवं समितिका सदस्य प्रा डा देवमणि भट्टराई । टीका लगाइ दिनेले भने पश्चिम फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने उहाँले सुनाउनुभयो । टीका लगाइमाग्ने र लगाइदिने मानिस फर्कने दिशा कोजाग्रत पूर्णिमाका दिनसम्म चन्द्रमा रहेको राशिका आधारमा निर्धारण हुनेछ । आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ । जमराले विभिन्न रोग व्याधमा औषधिको रुपमा काम गर्ने तथ्य वैज्ञानिक रूपमा समेत पुष्टि भइसकेको छ । घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले आज मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिएको हो । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादसैँकै सबैभन्दा महत्वपूर्ण दिन हो । त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ । यसैले आजको दिनलाई विजयको प्रतीकका रुपमा पनि लिइन्छ । आज गुरु पुरोहित, हजुरबा, हजुर आमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरुबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ । विजयादशमीमा टीका लगाइदिँदा यस्ता मन्त्रले आशीर्वाद दिने गरिन्छ– आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे । ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।। शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते । विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायण ।। अर्थात् द्रोणाचार्यका छोरा अश्वत्थामाको जस्तो आयु होस्, अयोध्याका राजा दशरथको जस्तो श्री होस्, दशरथका छोरा रामको जस्तो शत्रु नाश होस्, राजा नहुषको जस्तो ऐश्वर्य होस्, वायुको जस्तो गति होस्, दुर्योधनको जस्तो मान होस्, भीष्मको जस्तो शुरता होस्, बलरामको जस्तो बल होस्, कुन्तीका छोरा कर्णको जस्तो दानशीलता होस्, विदुरको जस्तो ज्ञान विज्ञान होस्, नारायणको जस्तो कीर्ति होस् भनी आशीर्वाद दिने गरिन्छ । यो मन्त्र विशेषगरी पुरुषलाई टीका लगाउँदा आशीर्वाद दिन भनिन्छ । महिलालाई भने दुर्गा देवीको स्वरुप मानेर निम्न लिखित मन्त्रले आशीर्वाद दिइन्छ । जयन्ती मङ्गला काली भद्रकाली कपालिनी । दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।। आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरुप टीका, जमरा र आशीर्वाद थाप्न हिँड्ने मानिसको बाटामा भीड लाग्छ ।
यस्तो छ आजका लागि तरकारी र फलफूलको थोक मूल्य
काठमाडौँ, १६ असोजः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४८, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३०, आलु रातो प्रतिकिलो रु ५२, आलु रातो (भारतीय) प्रतिकिलो रु ३०, आलु रातो (मुडे) प्रतिकिलो रु ४४, आलु सेतो प्रतिकेजी रु ४०, प्याज सुकेको भारतीय प्रतिकिलो रु ३९ रहेको छ । यस्तै, गाजर (लोकल) प्रतिकिलो रु १३०, गाजर (तराई) प्रतिकिलो रु ११०, लोकल बन्दा प्रतिकिलो रु ६०, काउली स्थानीय प्रतिकिलो रु ९०, रातो मूला प्रतिकेजी रु ५०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ९०, भन्टा लाम्चो प्रतिकिलो रु २५, भन्टा डल्लो प्रतिकिलो रु ३५, तने बोडी प्रतिकिलो रु १२०, मकै बोडी प्रतिकिलो रु ९० कायम भएको छ । यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो रु १२०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १२०, टाटे सिमी प्रतिकेजी रु २७०, भटमास कोसा प्रतिकिलो रु ९०, तीतो करेला प्रतिकिलो रु ६०, लौका प्रतिकिलो रु ६०, परबर (लोकल) प्रतिकिलो रु ७०, परबर (तराई) प्रतिकिलो रु ७०, चिचिण्डो प्रतिकिलो रु ३४, घिरौँला प्रतिकिलो रु ६०, झिगुनी प्रतिकिलो रु १००, फर्सी पाकेको प्रतिकिलो रु ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ४५, सलगम प्रतिकिलो रु ९०, भिण्डी प्रतिकिलो रु ९० कायम गरिएको छ । सखरखण्ड प्रतिकेजी रु १००, बरेला प्रतिकेजी रु १००, पिँडालु प्रतिकिलो रु ८०, स्कूस प्रतिकिलो रु २०, रायोसाग प्रतिकिलो रु १४०, पालुङ्गो साग प्रतिकेजी रु १३०, चमसुर प्रतिकेजी रु २००, तोरीको साग प्रतिकिलो रु ७०, हरियो प्याज प्रतिकिलो रु ७०, च्याउ (कन्य) प्रतिकिलो रु १३०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५०, कुरिलो प्रतिकिलो रु ४००, निगुरो प्रतिकिलो रु ८० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकिलो रु १५०, चुकुन्दर प्रतिकिलो रु ७०, रातो बन्दा प्रतिकिलो रु २००, जिरीको साग प्रतिकिलो रु १५०, सेलरी प्रतिकिलो रु २५०, पार्सले प्रतिकिलो रु ९००, सौफको साग प्रतिकिलो रु ३००, पुदिना प्रतिकिलो रु ८००, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १४० र गुन्द्रुक प्रतिकिलो रु ३०० तोकिएको छ । समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १३०, कागती प्रतिकिलो रु १५०, अनार प्रतिकिलो रु ३५०, सुन्तला (भारतीय) प्रतिकिलो रु १६०, तरबुजा हरियो प्रतिकिलो रु ७०, मौसम प्रतिकिलो रु १६०, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु १६०, काँक्रो (लोकल) प्रतिकिलो रु १००, निबुवा प्रतिकिलो रु ६०, नास्पाती (लोकल) प्रतिकिलो रु ९०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २२०, मेवा (नेपाली) प्रतिकिलो रु ६०, मेवा (भारतीय) प्रतिकिलो रु १००, अम्बा प्रतिकिलो रु ९० र लप्सी प्रतिकिलो रु ८०, किबी प्रतिकिलो रु ३००, सरिफा प्रतिकिलो रु १२० र आभोकाडो प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ । यसैगरी, अमला प्रतिकिलो रु ९०, अदुवा प्रतिकिलो रु १२०, सुकेको खुर्सानी प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ७०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ९०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु २००, भेडे खुर्सानी प्रतिकिलो रु १००, लसुन हरियो प्रतिकिलो रु १५०, हरियो धनियाँ प्रतिकिलो रु ६०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २२०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १६०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु २००, माछा सुकेको प्रतिकिलो रु १०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३००, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, रूख टमाटर प्रतिकिलो रु २००, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १००० निर्धारण गरिएको छ ।
सय वर्षभन्दा पुरानो ऐतिहासिक ब्रह्मा मन्दिरमा गजूर स्थापना
काठमाडौँ, १६ असोज
काठमाडौँ महानगरपालिकाले सय वर्षभन्दा पुरानो ऐतिहासिक ब्रह्मा मन्दिरमा गजूर पुनः स्थापना गरेको छ । महानगर-८ गायत्रीमार्गमा रहेको छैटौँ शताब्दीको ऐतिहासिक ब्रह्मा मन्दिरमा गजूर स्थापना गरिएको हो । महानगर सम्पदा तथा पर्यटन समिति संयोजक एवं वडा नं ८ का अध्यक्ष आशामान सङ्गतले विधिपूर्वक पूजा गरी गजूर स्थापना गर्नुभएको हो । वडाध्यक्ष सङ्गतले दुईतल्ला रहेको प्यागोडाशैलीको मन्दिर रु एक करोड १५ लाखको लागतमा निर्माण गरिएको जानकारी दिनुभयो । उहाँले मन्दिरको निर्माण कार्य अन्तिम चरणमा पुगेको र आगामी माघभन्दा पहिले साइत नजुरेकाले गौशाला प्रहरी कार्यालयमा थन्क्याएर राखिएको मूर्तिसमेत साइत मङ्गलबार स्थापना गरिएको बताउनुभयो । गत माघ ७ गते मन्दिर पुनर्निर्माणका लागि शिलान्यास गरिएको थियो । त्यसअघि एक सय वर्षभन्दा धेरै समय भएको मन्दिरको ऐतिहासिकता उत्खनन गरिएको थियो । मन्दिरको ऐतिहासिक दस्ताबेज नपाइएपछि जगको आकृति, प्रयोग भएको निर्माण सामग्रीका आधारमा पुरात्त्वविद्हरूबाट मन्दिरको रेखाङ्कन गरिएको थियो । इँटा माटो र काठबाट निर्मित मन्दिर दुईतल्लाको प्यागोडा शैलीमा निर्माण गरिएको हो ।
दसैँतिहारको बिदालाई सिर्जनशील बनाउऔँ’
टीकापुर, १६ असोज
कैलालीका विद्यार्थीहरू दसैँतिहार बिदालाई सिर्जनशील बनाउने तयारीमा छन् । लामो समय हुने बिदामा कक्षामा हुने औपचारिक सिकाइ बन्द भए पनि अनौपचारिक सिकाइका लागि सिर्जनशील काममा लाग्ने उनीहरूको योजना छ । यस अवधिमा व्यवहारिक ज्ञान सिक्नुका साथै खेल, सङ्गीत, मनोरञ्जनमा समय बिताउने तयारीमा रहेको विद्यार्थीहरू बताउँछन् । विज्ञान विषयमा कक्षा ११ मा अध्ययनरत विद्यार्थी कृष्टिनी पोखरेल दसैँमा नयाँ काम सिक्ने, सामाजिक काममा सहभागी हुने, ज्ञानमूलक चलचित्र हेर्ने, नयाँ पुस्तक पढ्ने तयारी रहेको बताउनुहुन्छ । “गृहकार्यसँगै टोल विकास संस्थामार्फत समाजमा हुने हरेक कार्यमा सहभागी हुनेछु । आमाले लैङ्गिकता बुझाउने फिल्म देखाउछु भन्नुभएको छ । यसपटक मदन पुरस्कार विजेता पुस्तकसहित चार थान नयाँ पुस्तक पनि किनेको छु । त्यही अध्ययन गर्छु”, उहाँले भन्नुभयो । विद्यार्थी नेहा उपाध्याय पनि पढाइलाई सिर्जनशील बनाउने र दसैँ तिहारबारे ज्ञान लिने बताउनुहुन्छ । “यसपटक मैले अभिभावकसंँग नवमीको विशेषता, टीका जमराको महत्त्वबारे ज्ञान लिनेछु”, उहाँले भन्नुभयो, “किताबमा पढेका तर व्यवहारिक अभ्यास नगरेका आफूलाई रुचि लागेका केही काम सिक्ने योजना पनि बनाएकी छु ।” दसैँतिहारको लामो छुट्टी विद्यार्थीका लागि कक्षा कोठामा सिकेका र छुटेका कुराहरू सिक्ने अवसर पनि हो । साथीसङ्गी, परिवार र आफन्तसँग रमाउनुका साथै सिकेका कुरालाई पुनरावलोकन गर्ने, अझ मजबुत गर्ने र जीवनोपयोगी सीप सिक्न समय पनि हो यो । विद्यार्थी भरना ढुङ्गाना आफू पनि पढ्ने र भाइबहिनीलाई गृहकार्य गराउने, घरको काममा सघाउने र सिक्ने योजना रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “एक महिना भनेको पर्याप्त समय हो । यो समयमा आफन्त भेटघाटका लागि पनि समय छुट्याएको छु । त्यसबाहेक भान्छामा सिकाइ र नयाँ कुरा सिक्न समय खर्चिरहेको छु ।” कर्णाली मावि टीकापुरका शिक्षक यज्ञ विश्वकर्मा चाडपर्वको लामो बिदालाई मनोरञ्जनमा मात्रै सीमित नगरेर नयाँ कुरा सिक्ने अवसरका रूपमा लिनुपर्ने सुझाव दिनुहुन्छ । यसबेला पारिवारिक जमघट हुने भएकाले आफन्तसँग भेटघाट, सांस्कृतिक ज्ञान आदानप्रदान र आफूमा भएको प्रतिभा सिक्नेगरी योजना बनाउनुपर्नेमा उहाँको जोड छ । “दसँैतिहारको बिदालाई मनोरन्जन, घुमघाम गर्दै आफूलाई मन लागेको सीप सिक्ने, पढाइलाई थप सुधार गर्ने र दिइएका गृहकार्य आफ्नै प्रयासले गर्ने गरे बिदाको सदुपयोग हुन्छ”, शिक्षक विश्वकर्माले भन्नुभयो । कर्णाली मावि टीकापुरले विद्यार्थीसँगै अभिभावकलाई पनि बिदाको समयमा पढाइसँगै बालबालिकालाई घरायसी र सामाजिक काममा सक्रिय गराउन पत्रसमेत पठाएको जनाएको छ । प्रधानाध्यापक धर्मराज शर्माले भन्नुभयो, “साना कक्षाका बालबालिका एक महिनापछि पढेका सबै कुरा बिर्सिएर आउने भएकाले यसपटक अभिभावक बोलाएर घरमा अध्ययनका लागिसमेत समय दिन अनुरोध गरेका छौँ । सामाजिक सञ्जालको प्रयोगबाट टाढा राख्न खेतबारी र प्रकृतिसँग रमाउने वातावरण बनाउन तथा सांस्कृतिक ज्ञानका लागि सहजीकरण गर्न भनेका छौँ ।”








प्रतिक्रिया